भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल बन्द

चितवन, असार २/ ७२ घण्टामै निर्माण गरिएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल बन्द भएको छ । भरतपुर अस्पतालले आज (मंगलबार) एक विज्ञप्ती जारी गर्दै कोरोना अस्पताल बन्द गरिएको जनाएको हो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीद्धारा जारी विज्ञप्तीमा भनिएको छ–‘हालसम्म कोरोना विशेष (अस्थायी) अस्पतालबाट शनिबार र आइतबार गरी १८ जना पोजिटिभ बिरामीहरुलाई भरतपुर अस्पतालमा स्थानान्तरण गरी उक्त कोरोना विशेष (अस्थायी) अस्पताल बन्द गरिएको छ ।’ सुरक्षाको दृष्टिकोणले उक्त अस्पताललाई पूर्ण रुपमा निर्मलीकरण गरिने अस्पतालले जनाएको छ ।

केहीदिन अघि सोही अस्पतालमा रहेका कोरोना संक्रमितहरुले आइसोलेसन कक्षमै शौचालयको पानी बगेको भिडियो सार्वजनिक गरेपछि अस्पताल फेरि विवादमा तानिएको थियो । संक्रमितहरुले आफूहरुको गुनासो कोरोना अस्पतालले नसुनेको, गुणस्तरी खानाको व्यवस्था नगरेको जस्ता आरोप लगाएका थिए । अस्पतालमै शौचालयको पानी बगेको खबर सार्वजनिक भएपछि त्यहाँ रहेका सबैलाई भरतपुर अस्पताल सारिएको थियो ।

भरतपुर महानगरपालिकाको अग्रसरतामा खोलिएको सो अस्पताल वैशाखदेखि भरतपुर अस्पतालको व्यवस्थापनमा संचालन भइरहेको थियो । कोरोना अस्पतालबाट ९५३ जना शंकास्पद बिरामीको मात्र स्वाब संकलन गरी आरटी पीसीआर विधिबाट कोरोना परीक्षणका लागि विभिन्न प्रयोगशाला पठाईएको थियो । यस्तै सो अस्पतालमा २८ जना कोरोना भाइर संक्रमितको व्यवस्थापन गरिएको थियो ।

गत चैतदेखि भरतपुर–१० स्थित चितवन प्रदर्शनी केन्द्रमा संचालनमा आएको सो अस्पताल सुरुदेखि नै विवादमा तानिदै आइरहेको थियो । पछिल्लो समय अस्पतालमा रहेका स्वास्थ्य उपकरणसंगै अन्य सामग्रीहरु अस्पतालकै कर्मचारीहरुले चोरी गरेको सीसीटिभी फुटेज बाहिरिएको थियो । यसले देशभर नै तरंग छाएको थियो । सोही घटनालाई लिएर व्यापक अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगक हेटौंडाले छापा मारेर अनुसन्धान समेत गरिरहेको छ ।