सार्वजनिक सवारीसाधन सुचारु गर्न थप छलफल सुरु

काठमाडौं/सार्वजनिक सवारीसाधन सुचारु गर्न यातायात व्यवस्था विभागले नयाँ निर्देशिका निर्माण गरे पनि व्यवसायीको असहमतिले जारी गर्न सकेको छैन । कोरोनाको बन्दाबन्दी बिस्तारै खुकुलो बनाउने तयारीसँगै विभागले सार्वजनिक सवारी सञ्चालन गर्न निर्देशिका निर्माण गरेको थियो तर व्यवसायीले विरोध गरेपछि विभाग र व्यवसायीबीच उपसमिति बनाएर वार्ता तथा छलफल भइरहेको छ ।

नयाँ निर्देशिका कारोनाबाट सुरक्षित रहेर सार्वजनिक सवारी सञ्चालन गर्न तयार गरिएको विभागले जनाएको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, “सार्वजनिक यातायातमा कोरोनाबाट सुरक्षित रहन प्राविधिक मापदण्ड बनाएको हो, सरोकारवालासँग छलफल भइरहेको छ । ”

सार्वजनिक सवारी सञ्चालन सामाजिक दूरी कायम हुनेगरी गर्नुपर्नेछ । जसमा पहिलाजस्तै सबै सिटमा यात्रु राख्न पाइने छैन । मास्क, पन्जा तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गरिने छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।