बन्द रहेका सरकारी कार्यालय आजबाट खुल्दै, दुई सिफ्टमा संचालन

काठमाडौँ /कोरोना भाइरस रोग ९कोभिड–१९० नियन्त्रणका लागि सरकारले बन्दाबन्दी गरेको ८३ दिनपछि सोमबारदेखि सबै कार्यालय स्वास्थ्य सुरक्षा मापदण्डसँगै खुला हुँदै छ । बन्दाबन्दीले सर्वसाधारण नागरिकको दैनिकी चलाउन समस्या भएपछि आर्थिक गतिविधिसँगै सबै सरकारी तथा गैरसकारी कार्यालय साविककै रूपमा सेवा प्रवाह गर्ने गरी सरकारले खुलाउन लागेको हो ।

मन्त्रिपरिषद्ले गत साता नै बन्दाबन्दीको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको थियो । आर्थिक वर्ष सकिनै लाग्दा सर्वसाधारण, व्यवसायी, कम्पनी र सङ्घसंस्थाको वार्षिक लेखा तथा कर फछ्र्योट गर्नुपर्ने भएकाले कार्यालयहरू खुुलाउनु जरुरी थियो ।

सङ्घीय मामिला तथा सामान्य मन्त्रालयका अनुसार कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरी कार्यालय खोल्ने तयारी गरिएको हो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव वसन्त अधिकारीले सरकारले बनाएको आवश्यक स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरी सोमबारदेखि सबै सेवा सुचारू गर्न लागिएको बताउनुभयो ।

सरकारी कार्यालयमा दुई सिफ्ट
सरकारले सोमबारदेखि सबै कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ । पहिलो चरणमा बिहान ८ बजेदेखि १ बजेसम्म र दोस्रो चरणमा १ देखि साँझ ६ बजेसम्म कार्यालय खुला गर्न लागिएको हो । कार्यालयमा कार्यरत कुल कर्मचारीको आधा कर्मचारी पहिलो सिफ्टमा र बाँकी आधा कर्मचारी अर्को सिफ्टमा सेवा प्रवाह गर्ने गरी व्यवस्था गरिएको छ । सर्वसाधारणलाई सहज र छिटो सेवा प्रवाह गर्न सरकारले एकै दिन दुई सिफ्टमा सेवा प्रवाह गर्न लागेको हो । सेवाग्राहीको चाप अनुसार कार्यालयको समय तोकिएभन्दा बढी कायम गर्ने अख्तियारी कार्यालय प्रमुखलाई दिइएको मन्त्रालयले जनाएको छ ।

अनलाइन र टेलिफोनको माध्यमबाट सेवा प्रवाह गर्न सकिने कार्यालयले सोही माध्यमबाट सेवा प्रवाह गर्ने र आवश्यकता अनुसार टोकन प्रणालीको व्यवस्था गर्न सबै निकायलाई सरकारले आग्रह गरेको छ । बन्दाबन्दी सुरु भएदेखि नै सेवाग्राहीको काम रोकिएको मालपोत, कर, राहदानी, लाइसेन्स बनाउने, नागरिकता प्रमाणपत्र लिने, कम्पनी, उद्योग दर्ता लगायतका कार्यालयमा सोमबारदेखि सेवाग्राहीको चाप बढ्ने निश्चित छ ।

प्रवक्ता अधिकारीका अनुसार सेवा लिने र दिने दुवैले कोरोना भाइरस सङ्क्रमण हुन नदिन आवश्यक स्वास्थ्य सम्बन्धी मापदण्ड अनिवार्यरुपमा पालना गर्नुपर्ने छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।