सरकारको विरोधमा काठमाण्डौ न्युरोडका व्यापारी सडकमा

२८ जेठ, काठमाडौं /सरकारका बिरुद्ध काठमाण्डौ न्युरोड क्षेत्रका साना व्यापारी(व्यवसायीहरू प्रदर्शनमा उत्रिएका छन् । लामो लकडाउनले गर्दा मर्नुपर्ने अवस्था आईसकेको भन्दै न्युरोडका व्यापारीहरू सरकारविरुद्ध ठूलो संख्यामा सडकमा उत्रिएका हुन् । ब्यापारीहरु आन्दोलनमा उत्रिएपछी सरकारले न्युरोड आसपासमा अत्याधिक मात्रमा प्रहरीहरूको तैनाथी पनि बढाइएको छ ।

व्यापारीहरूले ‘हाम्रो चुलो बाल्ने वातावरण बनाइदे सरकार’, ‘रहरले होइन, बाध्यताले आएका हौं’लगायतका नारा लेखिएका प्लेकार्डहरू बोकेका छन् ।
सरकारले ठूला व्यापारी र साना व्यापारीलाई भेदभाव गरेको गुनासो गर्दै उनीहरूले आफूहरूको घर भाडा मिनाहा गर्न, बैङ्क तथा वित्तीय संस्थाको ब्याज मिनाहा गर्न मागसमेत गरेका छन् । लामो समयको लकडाउनले आफूहरू समस्यामा परेको भन्दै न्युरोड क्षेत्रका व्यापारीहरूले २२ गतेदेखि आफैँ पसल खोलेका थिए । तर त्यसको तीन दिनपछि एक्कासी प्रहरीले बल प्रयोग गर्दै पसल बन्द गराएपछि उनीहरू रुष्ट बनेका हुन्।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले आफू व्यापार व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको भन्दै अब सरकारलाई तालाचाबी बुझाउने बताएका छन् । ‘लकडाउनको कुनै मोडालिटी पनि चेन्ज नगर्ने र व्यवसायीलाई राहत प्याकेज पनि घोषणा नगर्ने सरकारले हाम्रो सम्पूर्ण जिम्मा लेओस्,’ अन्यथा आन्दोलनको बिकल्प छैन् ।