बाँदरमुढे घटनाको१५ बर्ष पुरा : प्रचन्डको बाचा अझै अधुरै

चितवन/तत्कालीन विद्रोही पार्टी नेकपा माओवादीद्वारा सञ्चालित जनयुद्धको क्रममा चितवनको दक्षिणी क्षेत्र स्थित माडीको बाँदरमुढे खोलामा यात्रुबाहक बसमा विष्फोटन घटना भएको आज १५ बर्ष पुरा भएको छ ।
वि.सं.२०६२ साल जेठ २३ गते यात्रुहरु बोकेर गुडिरहेको ना.१ ख. ३२४५ नम्बरको बस विस्फोटमा पर्दा घटनास्थलमै ३८ जनाको ज्यान गएको थियो भने ७५जना घाइते भएका थिए । घटनामा घाइते भएका थप ४ जनाको समयक्रममा मृत्यु भइसकेको छ । घटना भएको एक बर्षपछि मृतकका परिवार र घाइतेहरु बाँदरमुढे घटना पीडित संघर्ष समिति बनाएर न्याय माग्दै आएका छन् । तर उनीहरूले अझै न्याय पाउन सकेका छैनन्
यसैबिच, तत्कालीन नेकपा (माओवादी)का अध्यक्ष, हालको सत्तारुढ दल नेकपाका समेत अध्यक्ष रहेका पुष्प कमल दाहाल प्रचण्डले गत संसदीय निर्वाचनको समयमा पीडित पक्षसंग गरेको सहमती अझैसम्म पूर्णरुपमा लागु हुन सकेको छैन ।
२०७४ मंसिर १७ गते भएको सहमतीमा मृतकका आश्रित परिवारका काम गर्न सक्नेलाई रोजगार, काम गर्न नसक्नेलाई जीवनवृत्ती र बालबालिकालाई निःशुल्क शिक्षा दिने लगायतका सहमती भएको थियो ।

तर,घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा बाँदरमुढेमा पार्कसहित संग्रहालय बनाउने सहमतीको अर्को बुँदामा भने माडी नगरपालिकाले प्रारम्भिक कामहरु अगाडि बढाएको छ ।