नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ४२ पुग्यो

काठमाण्डौ/मंगलबार मात्र थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । मंगलबार १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२, र ५८ वर्षका पुरुष तथा ३६ वर्षीय एक महिला र अर्की उमेर नखुलेकी एक महिला गरी जम्मा ११ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३ जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ८ जनामा कोरोना नतिजा पोजेटिभ देखिएको मन्त्रालयका सह–प्रवक्ता डा. समिर कुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । “उदयपुर जिल्ला त्रियुगा नगरपालिकास्थित भुल्केमा शंकास्पदको परीक्षण गर्दा १२ जनाको नतिजा पोजेटिभ भइ विराटनगरस्थित कोशी अस्पतालमा उपपचाररत रहेका छन् । निजहरुको संसर्गमा रहेका २६० जनाको काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएकोमा ३ जनाको नतिजा पोजेटिभ देखिएको र २० जनाको हाल परीक्षण भइरहेको छ,” जारी विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयका अनुसार अन्य थप ६९ जनाको परीक्षणको लागि विराटनगरस्थित कोशी अस्पतालमा नमुना पठाइएको थियो । त्यसमध्ये ८ जनाको नतिजा पोजेटिभ देखिएकाले थप परीक्षणको लागि आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएकोमा परीक्षण गर्दा पुष्टि भएकाले उनीहरुलाई हाल विराटनगरस्थित कोशी अस्पतालमा उपचारका लागि पठाइएको छ । नेपालमा हालसम्म संक्रमण पुष्टि भएका ४२ जना मध्ये ४ जना निको भएर घर फर्किसकेका छन् ।