अन्तत: कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा ७६ दिनपछि लकडाउनको अन्त्य

 एजेन्सी/चैत२६/विश्वव्यापी महामारीको रुप लिएको नोवेल कोरोना भाइरस संक्रमणको सुरुवाति इपिसेन्टर तथा उद्गम स्थल चीनको वुहान सामान्य जनजीवनमा फर्किन थालेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आएसँगै वुहानमा विगत ७६ दिनदेखिको लकडाउन अन्त्य भएको छ ।
७६ दिनपछि वुहानले आफ्नो सीमा खुला गरेको छ । तर केही प्रतिबन्धहरु भने कायमै छन् । संक्रमण पुनः फैलिन सक्ने जोखिम रहेको भन्दै सरकारी अधिकारीले सावधानी अपनाउन आग्रह गरेका छन् । एक करोड १० लाख भन्दा बढी मानिसको बसोबास रहेको वुहानमा गएको डिसेम्बरमा पहिलोपटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
जनवरीको तेस्रो हप्तादेखि यो भाइरसको संक्रमण विश्वव्यापी रुपमा महामारीको रुप लिएर फैलिएको छ । अहिले विश्वका अधिकांश देश यसबाट प्रभावित भएका छन् । हुबेई प्रान्तको राजधानी वुहानका स्वस्थ बासिन्दा तथा बाहिरबाट त्यहाँ पुगेकाहरुलाई बुधबारदेखि हिँड्न दिइएको छ ।