मुलुक १ साताका लागि ‘लकडाउन’ : अनुमतिप्राप्त व्यक्तिबाहेक अन्यलाई घरबाट निस्कन प्रतिबन्ध


कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको अवस्थालाई ध्यानमा राख्दै सरकारले मुलुक १ साताका लागि ‘लकडाउन’ गर्ने निर्णय गरेको छ ।
सोमवार काठमाडौंमा कोरोना संक्रमित भेटिएलगत्तै सरकारले चैत ११ (मंगलवार)बिहान ६ बजेदेखि चैत १८ गते १ सातासम्म सर्वसाधारण लाई घरबाहिर निस्कन रोक लगाएको हो ।
आइतवार बसेको मन्त्रिपरिषद् बैठकले नै १ साताका लागि मुलुक लकडाउन गर्ने निर्णय गरेको भए पनि सरकारले सोमवारमात्र ती निर्णय सार्वजनिक गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले सोमवार बेलुकाको पत्रकार सम्मेलनमा बताए ।
आइतवार नेपालसँग सीमा जोडिएका भारत र चीनका अन्तरराष्ट्रिय नाका १ साताका लागि बन्द गर्नेलगायत निर्णय मात्र सार्वजनिक गरिएको थियो ।
सोमवार टेकुमा एक जना युवतीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि सरकारले एक साताका लागि मुलुकभर लकडाउनको निर्णय सार्वजनिक गरेको हो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ।