कोरोनाको प्रकोप : इरानमा थप ८५ जनाको मृत्यु, श्रीलङ्काद्वारा तीन देशका यात्रुलाई प्रतिबन्ध ।

एजेन्सी/सिन्ह्वा/इरानमा कोरोनाका कारण थप ८५ जनाको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार यो सँगै इरानमा कोरोनाका कारण मृ(त्यु हुनेको सङ्ख्या ५१४ पुगेको छ ।

उनीहरुले एकै ठाउँमा एकै दिन यति धेरै बिरामीको मृ(त्यु भएको पनि पहिलो पटक भएको जनाएका छन् । इरानमा पछिल्लो एकै दिनमा एक हजार २८९ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । योसँगै कूल सङ्क्रमितको सङ्ख्या ११ हजार ३६४ पुगेको छ । यता,श्रीलङ्काको नागरिक उड्डयन प्राधिकरणले शनिबारदेखि तीन देशका यात्रुलाई प्रतिबन्ध लगाएको छ । प्राधिकरणका अनुसार दक्षिण कोरिया, इरान र इटालीबाट आउने यात्रुलाई श्रीलङ्का आउन प्रतिबन्ध लगाइएको हो ।
कोरोनाको सङ्क्रम बढ्दै जान थालेपछि अनिश्चितकालका लागि ती देशका यात्रुलाई प्रतिबन्ध लगाएको अधिकारीको भनाइ छ ।प्राधिकरणको आग्रहअनुसार सूचना विभागले सबै विमान कम्पनीहरुलाई ती देशबाट श्रीलङ्कामा यात्रु नल्याउन आग्रहसहित सूचित गरेको छ ।

हालै ती देशको भ्रमण गरेका यात्रुहरुलाई पनि नल्याउनसमेत श्रीलङ्काले आग्रह गरेको छ । यो प्रतिबन्ध शुरुमा झण्डै दुई हप्ता लागू हुने अधिकारीहरुले शुक्रबार बताएका छन् । श्रीलङ्कामा शुक्रबारसम्म दुई जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ भने स्वास्थ्य मन्त्रालयले सङ्क्रमण फैलिन नदिन पर्याप्त तयारी गरिएको जनाएको छ ।