बेलायती स्वास्थ्य मन्त्री डोरिसमा नैं कोरोना भाइरसको संक्रमण

डोरिस कोरोना भाइरसद्वारा संक्रमित हुने पहिलो सांसद हुन् । आफूलाई कोरोना लागेको थाहा पाएपछि परामर्शपछि पाएको सबै सावधानी अपनाएको र आफूलाई घरभित्र सेल्फ आइसोलेशनमा राखेको उनले जानकारी दिइन् ।

बेलायतमा कोरोना भाइरसका कारण अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ भने ३ सय ८२ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो पटक ८० वर्षका एक वृद्धको मृत्यु भएको थियो । उनको स्वास्थ्यमा यसअघि पनि विभिन्न समस्या देखिएका थिए ।

साथै एनएचएस इङ्गल्याण्डले संक्रमितको संख्या वृद्धि भइरहेको अवस्थामा संक्रमित भए नभएको परीक्षण गर्ने प्रणालीको क्षमता वृद्धि गर्ने तयारीमा भएको जानकारी दियो ।

अहिले दिनमा १५ सयको परीक्षण हुँदै आएकोमा नयाँ प्रणालीपछि दैनिक १० हजारको परीक्षण गर्न सकिने बताइएको छ ।

डोरिसले एक वक्तव्य जारी गर्दै बेलायतको सार्वजनिक स्वास्थ्य विभागले उनीसँगको सम्पर्कमा रहेका व्यक्तिहरुको खोजी गरिरहेको र उनको विभाग र संसदीय कार्यालयले विभागको सल्लाह अनुसरण गरिरहेको जानकारी दिएकी छिन् ।

६२ वर्षे डोरिसले नर्सको रुपमा आफ्नो करियर सुरु गरेकी थिइन् । उनीसँगै बस्ने उनकी ८४ वर्षीया आमाले पनि मंगलबारदेखि खोक्न थालेपछि आफूलाई निकै चिन्ता लागेको उनले ट्वीटरमार्फत् जानकारी दिएकी छिन् ।

डोरिसले पछिल्लो समय कतिवटा बैठकमा भाग लिइन्, त्यसको कुनै जानकारी छैन ।

स्वास्थ्य विभागका अनुसार बिहिबार उनलाई पहिलो लक्षण देखिएको थियो । उनले त्यसैदिन प्रधानमन्त्रीद्वारा आयोजित एक सडक कार्यक्रममा भाग लिएकी थिइन् । त्यसको भोलिपल्ट अर्थात् शुक्रबारदेखि उनी सेल्फ आइसोलेशनमा बसेकी छिन् ।

प्रधानमन्त्री बोरिस जोनसोनले संक्रमणको परीक्षण गरे नगरेको बारे कसैले पनि जानकारी दिन चाहेनन् ।

स्वास्थ्य सचिवलगायत सबै स्वास्थ्यमन्त्रीले भाइरसको परीक्षण गर्नुपर्नेछ । डोरिससँग सम्पर्कमा रहेका अन्य अधिकारीले पनि परीक्षण गर्नुपर्ने जानकारीमा उल्लेख छ ।

स्वास्थ्य सचिव म्याट ह्यानकोकले डोरिसले घरभित्र आफूलाई सेल्फ आइसोलेसनमा राखेको भन्दै ट्वीटरमार्फत् प्रशंसा गरेका छन् भने उनको शीघ्र स्वास्थ्य लाभको पनि कामना गरेका छन् ।