नेकपा विघटन हुने खतराः प्रचण्ड


वीरेन्द्रनगर/६ फागुन/नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले धेरैले अहिले पार्टी विघटन गराउन कसरत गरेको बताएका छन् । मंगलबार वीरेन्द्रनगरमा भएको कर्णाली प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी कमजोर बनाउन षड्यन्त्र भइरहेको भन्दै पार्टी विघटन भए प्रतिक्रियावादीहरूको सपना साकार हुने बताए ।
उनले पार्टीभित्र आइपरेका खतरा रोक्न ढिला गरे पार्टी बनाउने इच्छाशक्ति हुँदाहुँदै पनि पार्टी विघटनतिर जाने खतरा रहेको पनि बताए । उनले भने, ‘पार्टीका बारेमा भ्रम सिर्जना भइरहेका छन्।’ नेता–कार्यकता र जनताबीच केही तत्वले भ्रम सिर्जना गरेको भन्दै उनले भने, ‘यस्तो भ्रमलाई चिर्न सबै लाग्नुपर्छ।’

अहिले सबैतिर कम्युनिस्ट अस्ताएको र नेपालमा पनि दुई ठूला कम्युनिस्ट मिलेकाले प्रतिक्रियावादीहरू सल्बलाई रहेको उनको भनाइ छ।प्रचण्डले पार्टी एकता सुदृढ गर्ने जिम्मेवारी अब कार्यकर्ताहरुको हातमा रहेको बताए । सरकार संचालन आवश्यक नीति तय गर्न र सरकारका कमजोरीलाई सच्चाउन पार्टी कमिटिले नेतृत्वदायी भूमिका खेल्नुपर्ने भन्दै अध्यक्ष दाहालले भने, ‘सर्वहारा वर्ग कमजोरी नगर्ने र भैहाल्यो भने सच्याउने तर बुर्जवाहरु कमजोरी गर्ने र लुकाउने यही फरक छ ।’
कम्युनिस्ट पार्टीले राजनीतिक क्रान्ति बदलेको भन्दै उनले अझै धेरै काम गर्न बाँकी रहेको बताए। पार्टी विधि र प्रक्रियाबाट चलाउने भन्दै उनले अब पार्टी र पार्टीका जनवर्गीय संगठनको नियमित बैठक बस्ने जनाए।