मीटर ब्याजी साहुकार रामबाबु यादवसँग बयान सुरु साढे २० करोडको बिगो माग गरी मुद्दा दर्ता, रौनियार अझै फरार


सर्लाही/कुख्यात साहुकार रामबाबु रायविरुद्ध सर्लाही जिल्ला अदालतले आइतबारदेखि बयान लिन सुरु गरेको छ । न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासमा यादवको बयान लिन सुरु गरेको अदालतका श्रेस्तेदार शिवहरि पौडेलले जानकारी दिए । ‘आइतबारदेखि यादवसँग बयान लिन सुरु भएको छ,’ उनले भने, ‘भोलि फेरि थप बयान हुनेछ ।’ बयान नसकिएकाले उनलाई पुनः जिल्ला प्रहरी कार्यालय मलंगवाकै हिरासतमा पठाइएको जिल्ला अदालतले जनाएको छ ।

यादवविरुद्ध अदालतमा ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अभियोगपत्र दर्ता गरिएको छ । प्रहरीले २५ दिनको लामो अनुसन्धान सम्पन्न गरेर शुक्रबार जिल्ला सरकारी वकिलमार्फत यादवलाई अदालत पेस गरेको थियो । बयान सकेर सोमबारबाटै थुनछेक बहस सुरु हुने सम्भावना रहेको श्रेस्तेदार पौडेलले बताए । ऋण लिँदा ऋणीले धितो राखेको जग्गा जानकारीविनै अन्य व्यक्तिलाई बिक्री गरेर बिल्लीबाठ पारेको र ऋणीसँग कपाली तमसुक बनाएर चर्को ब्याज असुली गरेको उजुरीपछि यादवलाई २३ पुसमा प्रहरीले पक्राउ गरेको थियो ।

‘मिटरब्याजी’ आरोपी यादवलाई २८ वटा निवेदनबाट २० करोड ४४ लाखबराबरको बिगोदाबी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए ।अर्का ‘मिटरब्याजी’ आरोपी सञ्जय साह रौनियारको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । आरोपी रौनियार ठगीको आरोपलगत्तै बेपत्ता भएका छन् । उनी भारतमा लुकिछिपी बसिरहेको स्रोतको दाबी छ नयाँ पत्रिका दैनिकबाट