कुमार पौडेलको ‘फेक इन्काउन्टर’: जाहेरी लिन अस्वीकार महानिरीक्षकविरुद्ध समेत किटानी


कुमार पौडेलको हत्या घटनामा संलग्न प्रहरीमाथि फेरि कारबाही प्रक्रिया रोकिएको छ । गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयले हत्यामा संलग्न प्रहरीलाई पक्राउ गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई निर्देशन दिए पनि प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ । पीडित परिवारले हुलाकमार्फत जाहेरी दर्ता प्रक्रिया अघि बढाएका छन् ।

मृतककी आमा दुर्गादेवी बिहीबार जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय सर्लाही गएकी थिइन् । तर, यसअघि नै सो मुद्दाको टुंगो भवितव्य घटनाका रूपमा अनुसन्धान भइसकेको भन्दै प्रहरीले जाहेरी दर्ता गर्न नमानेको हो । त्यहीअनुसार जिल्ला प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ । पीडितहरूले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई समेत विपक्षी बनाई किटानी जाहेरी लिएर गएका थिए । हुलाकबाट दिएपछि दर्ता गर्नैपर्ने बाध्यता प्रहरीमाथि थियो ।

गैरन्यायिक हत्यामा संलग्न प्रहरीलाई संरक्षण गरेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले मुख्यसचिव लोकदर्शन रेग्मी र प्रहरी महानिरीक्षक खनाललाई कारबाहीको तयारी गरेपछि सिफारिस कार्यान्वयन अघि बढेको थियो ।

आयोगले तीन महिनाअघि तीनजना प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन गरेको सिफारिस कार्यान्वयन नगरेपछि गत साता पुनः ताकेता गर्दै कारबाहीको चेतावनी दिएको थियो । ताकेताअनुसार हत्यामा संलग्न प्रहरीलाई कारबाहीको सिफारिस गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय जिल्ला प्रहरी कार्यालय पुगेको थियो ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सर्लाही इन्चार्ज पौडेललाई ‘इन्काउन्टर’का नाममा प्रहरीले पक्राउ गरी हत्या गरेको निष्कर्ष निकाल्दै आयोगले त्यसमा संलग्न प्रहरीलाई निलम्बन गरी फौजदारी मुद्दा चलाउन आयोगले सिफारिस गरेका थियो ।