बेनिघाट रोराङ गाँउपालिकाद्वारा रङ्गशालालाई सय ट्रिपर गिट्टी दिईने ।

धादिङ/धादिङको बेनिघाट रोराङ गाँउपालिकाले धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको लागि एक सय ट्रिपर गिट्टी सहयोग गर्ने घोषणा गरेको छ । शनिबार बेनिघाट रोराङ गाउँ पालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटी(हरि) सहितको गाउँ पालिकाको टोली रङ्गशाला निर्माण स्थलमै पुगेर सो घोषणा गरेको हो । अध्यक्ष डल्लाकोटीले जनस्तरबाट निर्माण भइरहेको राष्ट्रिय गौरबको आयोजनालाई गाउँ पालिकाको तर्फबाट सहयोग गर्न चाहेको बताए । गाउँ पालिकाले विकास निर्माणसँगै विभिन्न सामाजिक कार्यहरुमा सक्रिय सहभागिता जनाएको बताउदै अध्यक्ष डल्लाकोटीले राजनैतिक आग्रह पूर्वाग्रह भन्दा पनि यो विशुद्ध सामाजिक कार्य भएकाले सहयोग घोषणा गरेको बताए । धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिकाको वडा नम्बर १५ मा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निमार्ण गरिरहेको छ ।
यस्तै शनिबार बिहान गल्छी गाँउपालिकाले १ सय टिपर बालुवा सहयोग गरेको थियो । गल्छी गाउँ पालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठ सहित धादिङबाट गएका जनप्रतिनिधीहरु, ट्रिपर व्यवसायीहरु लगायतको एक टोली चितवन स्थित रंगशाला निमार्ण स्थलमा पुगेर बालुवा हस्तान्तरण गरिएको थियो ।