चितवनको ईच्छाकामना गाँउपालिकाको हात्तीबाङमा बल्यो विजुली

चितवन । इच्छाकामना गाउँपालिका वडा नम्बर १ स्थित हात्तीवाङमा वुधबार विद्युत् सेवा उद्घाटन गरिएको छ । चितवन क्षेत्र नम्बर २ का सांसद कृष्णभक्त पोखरेलले वुधबार हात्तीवाङमा आयोजना गरिएको कार्यक्रममा वत्ती स्वीच अन गरी उद्घाटन गरेका हुन् । हात्तीवाङ इच्छाकामना गाउँपालिकाको वडा नम्बर १ मा पर्छ ।
चुनाव लड्दा आफूले छिटै विजुली बालेर देखाउने प्रतिवद्धता गरे अनुसार अहिले विजुली उद्घाटन गर्न पाउँदा जनतालाई न्याय गरेको महसुस भएको सांसद पोखरेलले बताए ।
धादिङ जिल्लाको फिडरबाट चितवनको हात्तीवाङमा विजुली बाल्नुपर्ने समस्याले गर्दा काम अड्किएको थियो तर, आफूले विद्यु्त् प्राधिकरणका प्रमुख, सिइओ, संचालक समिति सदस्यहरुसँग भेटेरै समस्या बताएपछि बल्लतल्ल समाधान भएको उनले बताए । सांसद भएको पहिलो वर्ष २० लाख र दोस्रो वर्ष १५ लाख विद्युत् विस्तारको लागि दिएको उनले बताए ।
‘विद्युतीय सुविधाको अभावले गर्दा यहाँको जनता समस्यामा थिए, प्रदेश सांसद घनश्याम दाहालले भने । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले अन्धकारबाट जनताले मुक्ति पाएको बताए ।
यस क्षेत्रका जनताहरु सोलार वत्तीको भरमा वस्दै आएका थिए । कार्यक्रममा बोल्दै इच्छाकामना गाउँपालिका प्रमुख गीताकुमारी गुरुङले विजुलीवत्तीको पहुँचसँगै अव यहाँको जनताको जीवनस्तरमा सुधार आउने अपेक्षा गरिन् ।