कम्पनी भारतमा, नेटवर्किङ नेपालमा


झापा(नेपालमा नेटवर्किङ व्यवसाय प्रतिबन्धित भएसँगै विदेशमा नेटवर्किङ धन्दा चलाएका कम्पनीका प्रतिनिधिले नेपालमा बिनादर्ता यस्तो व्यवसाय सञ्चालन गर्दै आएको पाइएको छ । नेपालीलाई प्रतिनिधि बनाएर व्यवसाय सञ्चालन गर्दै आएका भारतीय कम्पनी नेपालमा सक्रिय रहनुले मुलुकमा गैरकानुनी रुपमा नेटवर्किङ व्यवसाय सञ्चालनमा रहेको खुलेको हो । यसबाट सर्वसाधारण ठगिने क्रम बढ्दो छ ।
जटिल प्रकृतिका रोग निको पार्ने भन्दै झापामा ‘डिकेन’ नामक संस्थाले नेटवर्किङ् धन्दा चलाइरहेको छ । डिकेनको कम्पनी भारतको हैदरावादमा दर्ता रहेको नेटवर्किङ्मा संलग्न स्वयम् बताउँछन् ।

डिकेनमा सक्रियहरुले हस्पिटलले समेत निको पार्न नसकेका रोग निको पार्ने भन्दै सर्वसाधारणलाई आफ्नो उत्पादन बिक्री गरिरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । डिकेनका उत्पादन बिक्री गरेर मोटो रकम लिने गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताए । “डिकेनका उत्पादन पनि धेरै महंगा रहेछन्, ५ सय ग्राम प्रोटिनको मूल्य १९ सय ४८ भारतीय रुपैयाँ पर्दो रहेछ” रिजालले भने ।
नेपालमा दर्ता नभएको डिकेन नामक संस्थाले नेटवर्किङ शैलीबाट ‘फ्रुट सप्लिमेन्ट’ बिक्री गर्दै आएको छ । रोग निको पार्ने भनेर बिक्री गरिएका उत्पादनलाई ‘फ्रुट सप्लिमेन्ट’ भन्ने गरेको डिकेनमा सक्रिय झापा बिर्तामोड नगरपालिका–३ का देवेन्द्र महतोले बताए । आफूले फ्रुट सप्लिमेन्ट साथै श्रृङगारका सामग्री बिक्री गर्दै आएको उनी बताउँछन् । विगत एक वर्षदेखि व्यवसायमा सक्रिय महतोले १० जना सदस्य विस्तार गरिसकेको जनाए । महतोले एक वर्षमा १ लाख १० हजार बढीको उत्पादन बिक्री गरिसकेको जनाएका छन् । दम, सुगर, पायल्स, कुपोषण लगायत रोग निको पार्ने भन्दै उत्पादन बिक्री गर्दै आए पनि यसलाई औषधी भन्न चाहिँ व्यवसायमा सक्रिय रुचाउँदैनन् ।
हैदरावादमा कार्यालय रहेको भनिएको डिकेनले विगत ३ महिनादेखि बिर्तामोड–४ स्थित तिनजुरे होटलको कोठा भाडामा लिएर सदस्यलाई प्रशिक्षणसमेत दिदैँ आएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । प्रहरीले बिर्तामोड–३का महतो र बिर्तामोड–७ का सुशील नेपाललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनीहरुबाट ४५ हजार रुपैयाँ बराबरका डिकेनका उत्पादनसमेत बरामद गरेको प्रनाउ रिजालले बताए । यसको उत्पादन पनि धेरै मंहगो रहेको प्रहरीले जनाएको छ । “झापामा डिकेनमा सक्रियको टोली ठूलै रहेको बुझिएको छ” रिजालले भने, “बिनादर्ता, बिनाभन्सार, बिनाभ्याट सञ्चालनमा रहेको डिकेनले नेपालमा चलाउँदै आएको नेटवर्किङको विषयमा थप अनुसन्धान गरिरहेका छौं ।”
डिकेनको सदस्य बनेसँगै सदस्य बनाउनेले १० हजार मूल्य बराबरको सामान दिने गरेका छन् । सदस्य विस्तार गरे वापत २० प्रतिशतसम्म वोनस पाउने गरेको डिकेनका एक प्रशिक्षकले बताए । फ्रुट सप्लिमेन्ट भएकाले सोचे जस्तो छिटो रोग निको हुदैँन तर निरन्तर यसको प्रयोग गरे धेरै रोग निवारण गर्न सकिने व्यवसायमा सक्रियहरूको भनाइ छ । फ्रुट सप्लिमेन्ट भने हरेक दिन विहान बेलुका दुधसँग मिसाएर खानुपर्ने यसको अभियानमा लागेकाहरु बताउँछन् । तर उनीहरुको भनाई सत्यतामा भन्दा पनि रकम असुलीमा केन्द्रित रहेको छ । किनकी डिकेनको उत्पादन प्रयोग गरे पनि आफूमा कुनै पनि परिवर्तन देखा नपरेको स्वयम् सेवनकर्ता बताउँछन् ।
झापाका प्रमुख जिल्ला अधिकारी उदय राना मगरले यसबारे आफूलाई केही जानकारी नभएको प्रतिक्रिया दिए । उनले जिल्लामा त्यस प्रकारको संस्था नरहेको दावी गरे । मोटाउने साथै धेरैखाले दीर्घरोग ठीक पार्ने भन्दै उत्पादन भित्र्याउनेहरूले गाउँ–गाउँमा प्रभाव विस्तार गरेका छन् । झापामा मात्र यसको नेटवर्क विस्तार र उत्पादन बिक्रीका लागि १५ जना युवायुवती खटिएका एक प्रचारकले बताए । दिनानुदिन यसको अभियानमा लाग्नेको संख्या बढेकाले यसबाट प्रभावित हुनेको संख्या पनि बढ्दै गएको छ । यसले गर्दा धेरै मानिस रोग निको हुने आशमा हजारौँ रुपैयाँ खर्च गर्न लागिपरेका छन् । कारोबार दैनिकबाट