नेपाल भ्रमण वर्ष २०२०:यी हुन देशभरका मुख्य पर्यटकीय गन्तव्य स्थल

काठमाण्डौ – नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित बुधबारदेखि नेपाल भ्रमण वर्ष २०२० सुरु गरेको छ । नेपाल भ्रमण वर्ष २०२० को राजधानीस्थित दशरथ रंगशालामा बुधवार साँझ भव्य समारोहबीच उद्घाटन भैसकेको छ ।

नेपाल भ्रमण वर्षलाई सफल बनाउन सबै प्रदेशले आ-आफ्नै ढंगले तयारी गरिरहेका छन्  भने सबै प्रदेशका पर्यटकीय गन्तव्यको पनि पहिचान भैसकेको छ ।देशभरका मुख्य पर्यटकीय स्थलहरु प्रदेशगत रुपमा यसप्रकार छन् । 

प्रदेश १

त्यस्तै नेपाल भ्रमण वर्ष २०२० को प्रदेश १ मा औपचारिक सुभारम्भ भएको छ । बुधबार विराटनगरको सहिद मैदानबाट मुख्यमन्त्री शेरधन राईले पाँचलाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष सुभारम्भ भएको बताए ।

विभिन्न झाँकी र हेलिकप्टरबाट पुष्टवृष्टिसहित आयोजना भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले नेपालको होचो स्थान केचना कवलदेखि विश्वको अग्लो स्थान सगरमाथासहित अन्य पर्यटकीय क्षेत्रहरुको अवलोकनका लागि पाँचलाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको बताए । भ्रमण वर्षलाई सफल बनाउन पर्यटन व्यवसायी र निजी क्षेत्रसँग मिलेर प्रदेश सरकारले काम अघि बढाएको उनको भनाइ छ ।

प्रदेश १ मा विश्वको सर्वोच्च शिखर सगरमाथा सँगै सगरमाथा राष्ट्रिय निकुन्ज, मकालु बरुण राष्ट्रिय निकुन्ज, कञ्चनजंघा राष्ट्रिय निकुन्ज र कोशी टप्पु बन्यजन्तु आरक्षलगायतका क्षेत्रहरु छन् ।

प्रदेश १ मा सरकारले तोकेका पर्यटकीय गन्तव्य

नेपाल सरकारले प्रदेश १ का विभिन्न स्थानका पर्यटकीय, धार्मिक र ऐतिहासिक क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा राखेको छ । जसमा ताप्लेजुङमा पाथीभरा, फुडफुडे झारना, ईलामको सन्दकपुर–माईपोखरी, संखुवासभाको अरुण उपत्यका, धनकुटाको भेडेटार, नमस्ते झरना, खोटाङको हलेसी महादेव, सोलुखुम्बुको स्याङ्बोचे र सगरमाथा रहेका छन् । 

यस्तै ओखलढुङ्गाको पोकली झरना, झापाको बाँसबारी सिमसार पर्यटन पूर्वाधार केन्द्र, सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्ष, बराह क्षेत्र र तालतलैयालाई उत्कृष्ट गन्तव्य मानेको छ । 

त्यस्तै नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यको सूचीमा ताप्लेजुङको तिङ्बुङ पोखरी, पाँचथरको फाल्गुनन्द सर्किट, ईलामको फिकल–कन्याम–श्रीअन्तु सर्किट, तेह्रथुमको तीनजुरे मिल्के जलजले रहेका छन् । संखुवासभाको बालेश्वर ऐतिहाँसिक गुफा, धनकुटाको हलदे पटकेडाँडा पर्यटन ट्रेल, भोजपुरको ट्याम्के डाँडा (मुन्धुम ट्रेयल), खोटाङको बराह पोखरी पनि पर्यटकीय गन्तव्यमा परेका छन् । 

ताप्लेजुङमा पाथीभरा, फुडफुडे झारना, ईलामको सन्दकपुर–माईपोखरी, संखुवासभाको अरुण उपत्यका, धनकुटाको भेडेटार, नमस्ते झरना, खोटाङको हलेसी महादेव, सोलुखुम्बुको स्याङ्बोचे र सगरमाथा रहेका छन् । 

त्यस्तै सोलुखुम्बुको पाँचपोखरी, ओखलढुङ्गाको थोलेदम्बा डाँडा, उदयपुरको उदयपुर गढी, झापाको शहीद नेत्रलाल पार्क, गौरादह कृषि पर्यटन क्षेत्र, अर्जुनधारा पर्यटकीय क्षेत्र परेका छन् । मोरङको धनपालगढी, सुनसरीको पिण्डेश्वर दन्तकाली मार्ग पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छनौट गरेको क्षेत्रहरु अन्तर्गत प्रदेश १ मा परेका छन्  । 

प्रदेश २

प्रदेश २ का हरेक जिल्लामा एक प्रमुख केन्द्र तोकेर  ५/५ वटा गन्तव्य स्थल आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि तोकिएको छ । पर्यटकहरुको स्वागतका लागि हरेक जिल्ला र गन्तव्य स्थलमा प्रवेशद्वार बनाइएको छ । 

बुधबार जनकपुर विमानस्थलमा मुख्यमन्त्री लालबाबु राउत गएर बाह्य पर्यटकहरुको स्वागत गर्ने कार्यक्रम रहेको भिजिट नेपाल २०२० का प्रदेश संयोजक मनिष झाले जानकारी दिनुभएको छ।

यस्तै जानकी मन्दिरमा २०२० बत्ती बालेर मिठाई लगायतका परिकारको प्रदर्शनी, सिरहाको लहानमा सरसफाई तथा र्याली प्रदर्शन, सप्तरीको राजविराज र छिन्नमस्तामा अन्तरक्रिया लगायतका कार्यक्रम गरिने भएको छ ।

प्रदेश २ का प्रमुख पर्यटकीय गन्तव्यहरु :

पर्सामा पर्सा राष्ट्रिय निकुञ्ज, रामभौरी भाटामा रहेको दुग्धेश्वर महादेव मन्दिर, वीरगञ्जको घडिअर्वा पोखरी, संकचार्य गेट, घण्टाघर, महुवनको पारसनाथ मन्दिर, सुर्यगंगा आरती र ठोरी । 

बारामा अमलेखगञ्जमा रहेको चुरियामाई मन्दिर, सिम्रौनगढमा रहेको कंकालिनी मन्दिर र रानीबास, गढीमाई मन्दिर ।

रौतहटमा गौरमा रहेको बाराहवा ताल, नजरपुरको निन्जाधाम, शिवनगरको पशुपतिनाथ मन्दिर, बागमतीको नूनथर र चन्द्रनिगाहापुरको शहीद पार्क ।

सर्लाहीमा सलेमपुरमा रहेको चमेलीमाई मन्दिर, बागमतीको हरिहर्क क्षेत्र, चन्द्रनगरको नाधी ताल, लालबन्दीमा रहेको राधाकृष्ण मन्दिर र सागरनाथको सागरनाथ जंगल सहितका वन क्षेत्र ।

महोत्तरीमा जलेश्वरमा रहेका जलेश्वरनाथ मन्दिर, मठिहानीको लक्ष्मीनारायण मन्दिर, बर्दिबासको पंचधुरा माईस्थान, रौजा बजारमा रहेकाे मुस्लिमहरुको रौजा मजार र टुटेश्वरमा रहेको टुटेश्वरनाथ मन्दिर ।

धनुषामा जनकपुरधाममा रहेको जानकी मन्दिर, मिथिला आर्ट हाउस, विवाह मण्डप, जनकपुर रेलवे र गंगा सागर ।

सिरहामा बन्दीपुरमा रहेको बाबा ताल, महसोठाको राजा सलहेश स्थान, लहानको पकडिया गढ, ढोढनाको राजदेवी पञ्चवती मन्दिर र लहानमा रहेकाे सलहेश फुलबारी स्थान ।

सप्तरीमा छिन्नमस्ता सखडा भगवती मन्दिर, भारदहको कंकालिनी मन्दिर र कोशी टापु, तिरहुत गाउँपालिकामा रहेको लहजरा ताल र राजविराजको राजदेवी मन्दिर ।

प्रदेश ३

 

प्रदेश ३ सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै एक अर्ब ६५ करोड रुपैयाँ बराबरको बजेट पर्यटन प्रवर्द्धनका लागि खर्च गर्ने भएको छ ।

प्रदेश सरकारले पर्यटन वर्ष २०२० को पहिलो दिन पुस १६ गते चितवनको सौराहा, चितवन विमानस्थल, मकवानपुरको इन्द्रसरोवर, रसुवागढी नाका र तातोपानी नाकामा गरी ८ वटा कार्यक्रम गरेको छ । 

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा प्रदेश ३ सरकारले पहिलो फ्लाइटबाट भरतपुर आउने २० पर्यटकलाई सौराहामा निःशुल्क बसोबास गराउने घोषणा गरेको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले काठमाण्डौबाट पहिलो हवाई यात्रामा चितवन आउने पर्यटकका लागि एक रात सौराहामा खान बस्न, जंगल तथा हात्ती सफारीको निःशुल्क व्यवस्था गरेको मन्त्री अरुण नेपालले बताउनुभयो । 

भ्रमण वर्षमा २० लाख विदेशी पर्यटक भित्र्याउने संघीय सरकारको अभियानलाई सघाउन प्रदेश ३ सरकारले १० वटा स्थानमा हिल स्टेशन सञ्चालन गर्दैछ । मुढे, जिरी, सोम्दाङ, रुबीभ्याली, दामन–चित्लाङ–कुलेखानी कम्प्लेक्स, हेलम्बु–पाँचपोखरी, ललितपुरको कालेश्वर, रामेछापको शिवालय, सिन्धुलीगढी–खुर्कोट, चिम्टेश्वर र ककनी गरी १० स्थानलाई हिल स्टेशन घोषणा गरी ती क्षेत्रमा भौतिक पूर्वाधार निर्माण गर्ने गरी कार्यक्रम अगाडि बढाइएको छ । १८ वटा नया“ भ्यूटावर निर्माण गरिन तयारी गरिएको छ । 

प्रदेश ३ मा रहेका पदमार्गको विकास, पर्यटकीय क्षेत्रको पहिचान र प्रवर्द्धन गर्ने सरकारले योजना बनाएको छ । पर्यटकीय क्षेत्र मात्रै होइन, पूर्वाधार विकासमा पनि प्रदेश सरकारले ध्यान दिएको मन्त्री नेपालले बताउनुभयो । उहाँका अनुसार चितवन, मकवानपुर, धादिङ, काभ्रे, रामेछाप र ललितपुर जिल्लामा अधिकतम पर्यटकलाई पुग्नेगरी होटलहरुको स्तरोन्नती  गर्ने प्रदेश सरकारको योजना रहेको छ । 

गौरीशंकर हिमाली पदयात्रा, गणेश हिमाल, जुगल, शैलुङ विकास कार्यक्रम, गोञ्जला पासलाई खुला गरी लाङ्टाङ–गोसाइकुण्ड तथा तातोपानी र गौरीशंकर–रोल्वालिङसँग लिंक गरी पर्यटकीय पदमार्गको विकास गरिने प्रदेश सरकारको तयारी छ । हिमालले धेरै पर्यटक भित्र्याउन सहयोग पुग्ने मन्त्री नेपालले बताउनुभयो । 

चितवन राष्ट्रिय निकुञ्जमा सफारीमार्ग, ५ वटा पुल, मचान निर्माण गरिनुका साथै शिवपुरी राष्ट्रिय निकुञ्जमा मचान, होमस्टे तथा पदमार्ग विकासका कार्यहरुको थालनी गरिएको छ । 

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले पर्यटकीय क्षेत्रको प्रचार प्रसारसँगै चालु आर्थिक वर्ष तीनवटा हिल स्टेशन निर्माण गरिने र अन्य ४ हिल स्टेशन निर्माण गर्ने तयारी रहेको जानकारी गराइएको छ । 

गण्डकी प्रदेश

गण्डकी प्रदेश सरकारले पनि पोखराको लेकसाइडबाट भ्रमण वर्षको उद्घाटन गरेको छ । भ्रमण वर्षको उद्घाटन गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायत प्रदेशका ११ वटै जिल्लाका जनप्रतिनिधिको सहभागितामा उद्घाटन गरिएको हो ।

कार्यक्रममा मुख्यमन्त्री गुरुङले भ्रमण वर्ष सफल हुने या नहुने भन्ने विषय गण्डकी प्रदेशको हातमा रहेको दाबी गरे । उनले नेपाल आउने बाह्य पर्यटकमध्ये ४० प्रतिशत गण्डकी प्रदेशमै आउने भएकाले त्यसले निर्णायक भूमिका खेल्ने दाबी गरेका हुन् ।

‘नेपाल सरकारले भनेको २० लाख पर्यटकमध्ये कम्तीमा ८ लाख गण्डकी प्रदेशमा स्वतः आउँछन्,’ मुख्यमन्त्री गुरुङले भने, तर हामीले नेपाल आएका २० लाख पर्यटकमध्ये १० लाख पर्यटक भित्र्याउने गरी लाग्नपर्ने भनी सरोकारवालालाई आग्रह समेत गरे ।

मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश धार्मिक, साँस्कृतिक तथा प्राकृतिक रुपले सबैभन्दा धनी भएकाले पर्यटक गण्डकी प्रदेशमा आउने विश्वास राखे । ‘हाम्रो प्रदेशमा सर्वश्रेष्ठमा पनि सर्वश्रेष्ठ धेरै कुरा छन्, त्यसले पर्यटकलाई आकर्षित गर्छ,’ उनले भने, ‘हाम्रो प्रदेशमा सबैभन्दा अग्लो ठाउँमा ताल, भञ्ज्याङ, गहिरो गल्छी सबै छ ।’

गण्डकी प्रदेशका प्रमुख गन्तव्य

गण्डकी प्रदेश सरकारले छनोट गरेको १ सय १० पर्यटकीय गन्तव्यमा मुक्तिनाथ, मनकामना, गोरखकाली (गोरखा दरबार), पश्चिमकाली देवी, भिमसेन पार्क, लिगलिकोट दरबार, सिद्धगुफा, दामोदरकुण्ड, गलेश्वर, बिन्ध्यवासिनी, तालबाराही, ढोरबाराही, छाब्दी बाराही, केलादीघाट, त्रिवेणी, देवघाट, सेतीवेणी, छिम्केश्वरी, बाग्लुङ कालिका, गह्रौ कालिका, सतौंचण्डी कालिका, मौला कालिका, अकलादेवी लगायतका धार्मिक पर्यटकीय गन्तव्य पर्दछन् । त्यस्तै ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण तथा मनास्लु संरक्षण क्षेत्र, धौलागिरी, अन्नपूर्ण माछापुच्छ्रे, मर्दी तथा मनास्लु हिमश्रृँखला र त्यस अन्तर्गत रहेका महत्वपूर्ण हिमालले यो प्रदेशको पर्यटकीय आयाम थपेको छ ।

संसारकै अग्लो ताल तिलिचो, रामसारमा सूचीकृत पोखराका ९ तालहरु, संसारकै सबैभन्दा गहिरो गल्छी, शालिग्राम पाइने कालीगण्डकी नदी तथा अन्धगल्छी, रुप्से झरना, विभिन्न गुफाहरु, ग्रामीण बस्ती यहाँका महत्वपूर्ण पर्यटकीय गन्तब्य बनेको छ । नेपालकै पहिलो सिरुबारी होमस्टे, घलेगाँउ, राईनासकोट, भुजुङ, थारु भिलेज जस्ता होमस्टे साथै थपिंदै गरेका होमस्टेहरुमा पर्यटकको चाप बढिरहेको छ । 

विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्ग, माछापुच्छ्रे पदमार्ग, मनास्लु, मदी हिमाल, घोरेपानी, पुलहिल पदमार्ग यहाँका प्रमुख पर्यटकीय पदमार्ग बनेका छन् । 

प्रदेश ५

संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० प्रदेश ५ मा बर्दियाको ठाकुरद्वारामा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरे ।  लुम्बिनी भ्रमण वर्ष २०७६ मनाइरहेको प्रदेश ५ सरकारले ‘घुम्न जाउँ बर्दिया’ भन्ने नाराका साथमा बर्दियाको ठाकुरद्वारामा बुधबार विषेश कार्यक्रम गर्‍यो ।

प्रदेश ५ सरकारले पनि यस बर्षलाई लुम्बिनी भ्रमण वर्ष २०७६ मनाइरहेको छ । संघीय सरकारले शुरू गर्न लागेको ‘महायज्ञ’ प्रदेश सरकारले काँध थापेर त्यसको प्रवद्र्धनमा जुटेका छन् ।

संसारभरका पर्यटकलाई आकर्षण गर्न सक्ने लुम्बिनी सहितका प्रमुख पर्यटकीय स्थल प्रदेश ५ भित्र छन् । बुद्ध जन्मस्थल लुम्बिनीदेखि ३ हजार वर्षभन्दा पुरानो सभ्यता बोकेको तिलौराकोट क्षेत्र, बुद्धको एक मात्र अस्तुधातु रहेको रामग्रामस्तुपादेखि पशुपतिनाथ मन्दिरको जत्तिकै पुराना अवशेष रहेको नरैनापुरधाम, पर्रोहा परमेश्वर बोलबमधामहरू यहीँ प्रदेशमा रहेका छन् ।

प्रदेश ५ का प्रमुख पर्यटकीय स्थलहरु:

लुम्बिनी :-
विश्व सम्पदा सूचीमा सूचीकृत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी रुपन्देही जिल्लामा पर्दछ। लुम्बिनी बौद्ध धर्मालम्बीहरुको पावन र तपोभूमि हो । झण्डै २५६२ वर्ष अगाडि जन्मिएका गौतम बुद्धलाई ‘द लाइट अफ एसिया’ बाट समेत चिनिन्छ ।

लुम्बिनीमा विभिन्न देशका कला संस्कृति झल्कने खालका गुम्बाहरु समेत रहेका छन । मायादेवी मन्दिर प्रमुख आकर्षणको केन्द्रबिन्दु हो । लुम्बिनी बौद्ध धर्मालम्बीहरु मात्रै होइन, हिन्दूहरुले समेत आस्थाको केन्द्रको रुपमा सम्मान गर्ने पवित्र भूमि हो । 

रानीमहल :
लोभलाग्दा पाखापखेरा तथा छहराहरुको बीचमा रहेको पाल्पाको रानीमहल अर्को पर्यटकीय आकर्षणको केन्द्र हो । नेपालको ताजमहलको रुपमा चिनिने रानीमहल कालीगण्डकी नदीको उत्तरतर्फको मोडमा विशाल चट्टानमाथि पश्चिमी कला शैलीमा निर्माण भएको छ । 

जनरल खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा रानीमहलको निर्माण गरेका हुन् । वि.सं. १९५० सालमा शिलान्यास भइ चार वर्ष लगाएर यसको निर्माण सम्पन्न भएको हो ।

स्वर्गद्वारी :

प्यूठान जिल्लाको सदरमुकाम खलंगाबाट २६ किलोमिटर पश्चिममा रहेको स्वर्गद्वारी पाँच नम्बर प्रदेशकै प्रसिद्ध धार्मिक स्थल हो । यसलाई नेपालका प्राचिन मन्दिरहरुमध्ये एउटा मानिन्छ । समुद्री सतहबाट ७ हजार फिट उचाईंमा रहेको यसको क्षेत्रफल २६ सय रोपनी रहेको छ । 

पौराणिक कालमा पाण्डवहरु स्वर्ग जाँदा त्यही बाटो भएर गएको द्वार भएकाले स्वर्गद्वारी नाम रहेको जनविश्वास रहेको छ । रोल्पाको घुम्तीमा वि. सं १११६ मा जन्मिएका १०८ बाल तपस्वी नारायण गौतम ११५१ मा स्वर्गद्वारी आएपछि वेदका मन्त्रद्वारा अग्निप्रज्वलित गरी ११५२ वैशाख पूर्णिमादेखि अखण्ड महायज्ञ सुरु भएको थियो । विश्व शान्तिका लागि सञ्चालित अखण्ड यज्ञ अहिले पनि निरन्तर बलिरहेको छ । 

बर्दिया ठाकुरद्वारा :

जंगली जनावरको अवलोकन र सिमसार क्षेत्रको भ्रमण तथा अवलोकनका लागि महत्वपूर्ण गन्तव्यका लागि बर्दियाको ठाकुरद्वारा प्रमुख स्थल हो । बर्दिया राष्ट्रिय निकुञ्जले गर्दा यो पर्यटकीय गन्तव्य बनेको छ ।

ठाकुरद्वारामा दुर्लभ मानिएको पाटे बाघका साथै अन्य जनावर समेत पाइने गर्दछन् । स्वदेशी तथा विदेशी पाहुनाहरुका लागि घुमफिर गर्न ठाकुरद्वारा आकर्षक गन्तव्य हो । 

रिहार :
दाङ जिल्लाको सबैभन्दा महत्वपूर्ण स्थल रिहार हो । यसको इतिहास ५ हजार वर्ष पुरानो रहेको छ । द्वापर युगमा ऋषिमुनिहरुले विहार गरेको हुँदा यो ठाउँको नाम रिहार रहनगएको धार्मिक विश्वास रहेको छ । 

पाणिनि तपोभूमि :
अर्घाखाँचीको पाणिनी गाउँपालिका जंगलको बीचमा पाणिनी तपोभूमि अवस्थित रहेको छ । पाणिनी तपोभूमिको उत्तरतर्फको पानी कालीगण्डकी र दक्षिणतर्फको पानी बाणगंगा नदीमा मिसिन आउँछ । तपोभूमिमा मन्दिर, यज्ञशाला, भ्यूटावर बगैंचाका साथै पाणिनी ऋषिको मूर्तिसमेत रहेको छ । 

रेसुंगा :
गुल्मीको सदरमुकाम तम्घासदेखि ६ किलोमिटर उकालो दूरी पार गरेपछि रेसुंगा क्षेत्रमा पुग्न सकिन्छ । त्यहाँबाट विभिन्न हिमश्रृंखला, तालतलैयाका अतिरिक्त तराईको समथरभूमिको समेत दृश्यावलोकन गर्न सकिन्छ । समुद्र सतहदेखि १७ सय मिटर उचाइमा रहेको रेसुंगा आफैंमा सुन्दर र अनुपम छ । 

जगदीशपुर ताल :

१ सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको एशियाकै मानवनिर्मित तालमध्येको ठूलो ताल हो । कपिलवस्तुको निग्लिहवामा रहेको तालमा १२८ भन्दा बढी प्रजातिका चराचुरुंगी, ४६ प्रजातिका माछा तथा दुर्लभ जलचरको बसोबास रहेको छ । 

हरेक जाडो महिना सुरु भएपछि जगदीशपुर तालमा घुम्न आउने चरा गर्मी महिना सुरु भएसँगै फर्कने गर्दछन् । विश्व सम्पदा सूचीमा सूचीकृत तालमा हिउँदमा साईबेरिया, रुस, चीन, मंगोलिया तथा मध्य एशियाबाट समेत चराहरु आउने गर्दछन् ।  

कर्णाली प्रदेश : 

कर्णाली प्रदेश सरकारले पर्यटकीयस्थल बुलबुलेमा बिशेष कार्यक्रम गरी पर्यटन वर्ष २०२० को शुभारम्भ गरेको छ । वीरेन्द्रनगर बजारबाट बिभिन्न झाँकीसहितको र्‍याली निकाली बुलबुले उद्यानमा आएर भ्रमण वर्षको उद्घाटन गरिएको हो ।

शुभारम्भका क्रममा कर्णालीका जातजाति विशेषका भेषभुषा र संस्कृतिको प्रदर्शनसमेत गरिएको थियो । उनीहरुका छुट्टाछुट्टै झाँकीहरु प्रदर्शन गरिएको थियो । पर्यटन वर्ष शुभारम्भ हुनुपूर्व निकालिएको र्‍यालीमा लोपोन्मुख कुसुण्डा र राउटे जातिको पनि सहभागिता रहेको थियो ।

प्रदेश सरकारले पहिचान गरेका पर्यटकीय स्थलमा सुर्खेतको काँक्रेबिहार र बुलबुले ताल, पञ्चपुरी सर्किट र विद्यापुर, सल्यानको कुपिण्डेदह, छायाँ क्षेत्र र  खैराबाङ मन्दिर, मुगुको चंखेलीहिमाल, रिडीमच्छे पर्यटकीय क्षेत्र र छायाँनाथ कोइकी हिमाल, तिहार गुम्बा, बगर पर्यटकीय क्षेत्र रहेका छन् ।

यस्तै जुम्लाको जन्दनाथ–गुठीचौर–पातारासी सर्किट र सिंजा उपत्यका र  कालिकोटको पचाल झरना, डोल्पाको शेफोक्सुण्डो र शेगुम्बा– बिजेर–साल्दाङ–तिन्जे– धोतराप–छार्का सर्किट, हुम्लाको लिमिभ्याली र रलिङ–बारदेवभ्यू डुडल–खार्पुनाथ –सिमकोट सर्किट, मुगुको रारा ताल र छायाँनाथ, चुलिमालिका कोट दरबार, पंच दरबार सर्किट, पिली र मान्म रहेका छन् । 

यस्तै दैलेखको राकम कर्णाली र पञ्चकोशी सर्किट, पश्चिम रुकुमको सिस्ने हिमाल, स्याफ्रु ताल, मुसिकोट दरबार र डिग्रे मन्दिर, जाजरकोटको भेरी नदी, नदैगढ, कुशे, ठाकुरजीको गाठ सर्किटलाई पर्यटकीय गन्तव्यको रुपमा प्रदेश सरकारले पहिचान गरेको छ। 

कर्णालीका प्रमुख पर्यटकीय गन्तव्यहरुः-

रारा ताल 

कर्णाली प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र मध्य एक हो राराताल । मुगु जिल्लामा रहेको रारा ताल समुद्र सतहदेखि २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको छ ।

१०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको लम्बाइ ५ किलोमिटर र चौडाईइ ३ दमशलव २ किलोमिटर छ भने गहिराइ १ सय ६७ मिटर रहेको छ ।

रारा ताल पुग्नका लागि सुर्खेतबाट सडक र हवाइ तथा नेपालगञ्जबाट हवाइ यात्रा पनि गर्न सकिन्छ । विश्वमा कतै नपाईने उच्च स्थानको असाला माछा रारा तालमा रहेको छ । 

शे फोक्सुण्डो ताल

कर्णाली प्रदेशको अर्को महत्वपूर्ण पर्यटकीय गन्तव्य हो शे फोक्सुण्डो ताल । डोल्पा जिल्लामा रहेको यो ताल शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र नै छ । शे फोक्सुण्डो ताल समुद्री सतहदेखि ३ हजार ९ सय मिटरको उचाइमा रहेको छ । यो नेपालको सबैभन्दा गहिरो तालका रुपमा समेत प्रसिद्ध छ । 

शे फोक्सुण्डो तालको लम्बाइ ४.८ किलोमिटर, चौडाइ १.६ किलोमिटर र गहिराइ ६ सय ५० मिटर छ । नेपालगञ्ज, सुर्खेतदेखि हवाई यात्रामा जुफालसम्म गएपछि त्यहाँबाट डेढ घण्टा गाडी चढेर सदरमुकाम दुनै पुगिन्छ । दुनैबाट पैदलयात्रा मार्फत शे फोक्सुण्डो पुग्न सकिन्छ । ताल वरपर गुम्बा  र बस्ती रहेका छन् । 

काँक्रेबिहार 
दोस्रो लुम्बिनीका रुपमा परिचित ऐतिहासिक पर्यटकीयस्थल काँक्रेविहार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पर्दछ । वीरेन्द्रनगर बजारको मंगलगढी चोकबाट करिब साढे तीन किलोमिटर दक्षिणतर्फ गएपछि काँक्रेविहार पुग्न सकिन्छ । धार्मिक किम्वदन्तीअनुसार काँक्रेविहारमा पाँच पाण्डवहरुले बसोबास गरेको मानिन्छ ।

काँक्रेविहारलाई हिन्दू, बौद्ध धर्मावलम्बीको सामुहिक केन्द्रको रुपमा लिने गरिन्छ । पुरातत्व विभागले १४ वर्षअघि २०५७ सालमा उत्खनन् गरी भग्नावशेषका मूर्तिहरु निकालेर पुनर्निर्माणको काम सकाएको छ । 

दैलेखको ज्वाला

दैलेख जिल्ला धार्मिक रुपले धनी जिल्ला हो । दैलेखको सदरमुकाम पश्चिमतर्फ भैरवी गाउँपालिका, दुल्लु नगरपालिका र नारायण नगरपालिका सीमानामा श्रीस्थान र दुल्लु र भैरवीको नाभिस्थान पर्दछ । पानीमा बल्ने ज्वाला भएकाले यसलाई धार्मिक पर्यटक स्थलको रुपमा चिनिन्छ । 

सुर्खेतको वीरेन्द्रनगरबाट बसको यात्रामा करिब ३ घण्टामा सदरमुकाम पुगिन्छ । र त्यहाँको करिब ४५ मिनेटको गाडीको यात्रापछि नाभिस्थान र श्रीस्थान पुगिन्छ । अहिले त्यहाँ सरकारले ग्यास निकाल्नको लागि उत्खनन्को काम अघि बढाएको छ ।  

सिँजा उपत्यका

पर्यटकका लागि घुम्नलायक क्षेत्र मध्य जुम्लाको सिँजा प्रमुख मानिन्छ । ऐतिहासिक सिँजा उपत्यका नेपालीभाषाको उद्गमस्थलका साथै तत्कालीन राजा नागराजले स्थापना गरेको विशाल सिँजा साम्राज्यको राजधानी पनि हो । सिँजामा प्रायः इतिहासकारहरु, अनुसन्धानकर्ताहरु, विद्धानहरु र प्रशासकहरुदेखि दलका नेताहरुकोसमेत आगमन हुने गर्दछ । 

विशेषगरी धेरैजसो नेपालका जातिहरुको मूलथलो भएकाले आफ्नो जन्मभूमि खोज्दै सिँजामा आउने बढी नै देखिन्छन् । सिँजा कर्णालीको राजधानी वीरेन्द्रनगरबाट स्थलमार्गबाट एक दिनमा सजिलै पुगिन्छ । सुर्खेत विमानस्थलबाट र नेपालगञ्त्र विमानस्थलबाट पनि जान सकिन्छ ।  

कुपिण्डे दह

प्राकृतिक रुपले सुन्दर कुपिण्डे दह सल्यानमा पर्छ । त्यहाँ पुुग्नका लागि सुर्खेबाट तीन घण्टा लाग्छ । बराहमन्दिरसमेत रहेको कुपिण्डेदहको लम्बाई १२ सय २६ मिटर लम्वाइ, २ सय ५० मिटर गहिराइ, परिधि २ हजार ८ सय र क्षेत्रफल ३० हेक्टर रहेको छ । 

बुलबुले ताल

वीरेन्द्रनगरमै रत्न राजमार्गको छेउमै बुलबुले तालको मुख्य गेट छ । जमिनबाट पानी बुलबुल गर्दै आउने भएर यसकोे नाम बुुलबुले ताल राखिएको हो । यसबाहेक सुुर्खेतमा घण्टाघर, देउतीबज्यै मन्दिर, चमेरो गुुफा पनि प्रमुुख पर्यटकीय स्थलको रुपमा छन् ।  

पचाल झरना

पचाल झरना कालिकोटमा पर्दछ । नेपालकै ठूलो झरना भनिएको पचाल झरनाको उचाइ ३ सय ८१ मिटर रहेको बताइन्छ । प्रदेश सरकारले यसलाई प्रमुुख पर्यटकीय गन्त्व्यका रुपमा तोकेको छ । 

यस्तै ऐतिहासिक महत्व बोकेको जाजरकोट दरबार जाजरकोट जिल्लामा रहेको छ । बाइसे र चौबीसे राज्यको इतिहास बोकेको जाजरकोट दरबार एउटा पर्यटकीय स्थलको मुख्य गन्तव्य पनि हो ।

यस्तै स्यार्पु ताल रुकुम पश्चिमजिल्लाको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको छ । रुकुम पश्चिमको सदरमुकाम मुसिकोटदेखि करिब २ घण्टाको पैदल यात्रा पछि पुगिन्छ । यस्तै मुगुको चंखेली हिमाल पनि कर्णाली प्रदेशको एउटा पर्यटकीय गन्तव्य हो । रारा तालबाट मनोरम दृश्य देखिने यो हिमाल लगभग बाह्रै महिना चढ्न सकिन्छ । 

सुदूरपश्चिममा

नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ हुने दिन यही पुस १६ गते अर्थात् जनवरी १ लाई यहाँ उत्सवको रूपमा मनाएको छ।

सङ्घीय प्रहरी एकाइ कार्यालय धनगढीको मैदानमा नेपाल भ्रमण वर्ष २०२० को घोषना गरएको हो।  मुख्य समारोहमा प्रदेशका नौ वटै जिल्लाको लोकसंस्कृति झल्किने झाँकी र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको छ ।

 ‘देव भूमि सुन्दर भूमि’ नारा लेखिएको लोगोमा प्रदेशका प्राकृतिक र मानव निर्मित पर्यटकीय क्षेत्रको तस्वीरसमेत राखिएको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले भ्रमण वर्षलाई लक्षित गरी ‘भ्रमण वर्ष २०२०, हाम्रो मूल नारा राष्ट्र विकास, सबैको विकास, जुटौँ हामी सारा’ भन्ने मूल नारासहित पर्यटनमैत्री गतिविधि गर्ने योजना बनाएको छ ।

सुदूरपश्चिम पवित्र देव भूमि

परापूर्वकालदेखि पवित्र देव भूमिका रूपमा चिनिएको सुदूरपश्चिम प्रदेशमा रहेका सात बहिनी भगवती (देवस्थल) पर्यटकका लागि मुख्य आकर्षणका रुपमा रहेका छन् । त्रिपुरासुन्दरी, मैलौली, निगलासैनी, उग्रातारा, शैलेश्वरी, सुर्मादेवी र बडिमालिका सात वटा बहिनी भगवती हुन् ।

यो प्रदेशमा वैद्यनाथ धाम, पाताल भूमेश्वर, मलिकार्जुन, परशुराम धाम र गोदावरीसमेत पाँच वटा धामसमेत धार्मिक पर्यटनका मुख्य गन्तव्य हुन् । यसबाहेक धनगढीको १०८ फिट अग्लो शिवलिङ्गसहितको शिवपुरी धाम, कञ्चनपुरको महाकाली नदी माथि बनेको झोलुङ्गे पुल, कैलालीको पूर्वी सीमा नदी कर्णालीमा बनेको दक्षिण एशियाकै नमूनाको ‘स्टेट केबु ब्रिज’ धनगढीको ‘यएर क्याप्ट म्युजिम’ पनि मानव निर्मित आकर्षक क्षेत्र हुन् ।

नेपाल सरकारले तोकेका १०० वटा नयाँ पर्यटकीय गन्तव्यको सूचीमध्ये सुदूरपश्चिम प्रदेशमा बाजुराको बडिमालिका, बझाङको गोरखनाथ मन्दिर, डोटीको बड्डी केदार, दार्चुलाको मालिकार्जुन, कैलालीको बर्दगोरिया मन्दिर, भादा गाउँ, टीकापुर सर्किट, दोधाराचाँदनी क्षेत्रलगायतका आठ पर्यटकीयस्थल समावेश छन् । यो प्रदेशमा प्राकृतिकरूपमा मनोरम क्षेत्र खप्तड, रमारोशन, अपिनम्पा संरक्षण क्षेत्र, शुक्लाफाँटा, रामसार क्षेत्रको सूचीमा सूचीकृत घोडाघोडी क्षेत्रलगायतका मुख्य पर्यटकीय गन्तव्यस्थल हुन् । 

यो प्रदेशका हिमाल आरोहरण गर्न आउने पर्यटकलाई अपी सैपाल हिमाल आरोहण गराउन लागिएको हो । दार्चुला र बझाङ जिल्लामा पर्ने यी हिमालको आरोहणको योजना सङ्घ र प्रदेश सरकारको समन्वयमा कार्यान्वय गर्न लागिएको हो ।