च्याउखेतीमा प्रशस्त संभावना : किसान

चितवन/देशभरका च्याउखेती किसानले च्याउखेतीमा प्रशस्त संभावना रहेको बताएका छन् । प्रशस्त सम्भावना हुँदाहुँदैपनि जांँगर र लगानीको अभावले उत्पादन बढाउन कठिनाई भईरहेको किसानहरुको गुनासो छ।

अन्य कृषिउपजको लागि उपकरण , मलबीउमा सरकारले अनुदान दिएपनि यस खेतीमा कुनै सहुलियत ऋण, वीमा, प्रविधि लगायतका सेवासुविधा नपाएको भन्दै उनीहरुले गुनासो गरेका हुन । नेपाल च्याउ उत्पादक किसान संघले नारायणगढमा आज आयोजना गरेको मेची महाकाली च्याउ जागरण अभियान कार्यक्रममा च्याउ सम्बन्धी राष्ट्रिय नीति बनाउनु पर्ने माग समेत उनीहरुले गरेका छन ।

कार्यक्रममा बोल्दै चितवनका किसान शंकर महत्तोले बजारमा यसको माग उच्च भएपनि यसको व्यवसायीकरणको लागि स्थानीय सरकार, र कृषि ज्ञान केन्द्रले कुनैपनि सहयोग नगरेको गुनासो गरे ।  यस्तै मोरंगका अर्का किसान विजय सापकोटा पछिल्लो समय च्याउ खेतीमा युवाहरुको आकर्षण भएपनि नीतिको अभावका कारण अन्यौलमा परेको बताए ।

नवलपरासी, दुम्कौलीका अर्का किसान तेज पुनले च्याउखेतीको मागबढ्दै गएपनि लगानी अभावका कारण निरन्तरता दिन कठिन भएको बताए । सरकारले यसलाई व्यवसायिक रुपमा अगाडी लैजान र भारतबाट आयातित च्याउलाई कम गर्न नीतिनै बनाएर जानुपर्ने उनको भनाई थियो ।
सहभागी अन्य किसानले च्याउखेतीमा वीमानीति लागुगर्नुपर्ने, उपकरण र प्राविधिक पक्षमा अनुदान दिनुपर्ने र बजारीकरणको व्यवस्था गरिनुपर्ने लगायतका माग राखेका थिए ।
सो अवसरमा बोल्दै पूर्वमन्त्री एवं च्याउखेती किसान केशबलाल श्रेष्ठले च्याउ तरकारी , औषधी लगायत बहुउपयोगी कृषि उपज भएको भन्दै सरकारलाई दबाब सिर्जना गर्न र माग सम्बोधनको लागि देशभरका किसान संगठित भएर जागरण अभियाननै आयोजना गरी मेचीदेखि महाकाली अभियानमा लाग्नुपरेको बताए । ‘संघका केन्द्रीय अध्यक्ष प्रेमनारायण अधिकारीले च्याउको व्यवसायिक खेती शुरु गरिएको डेढदशकभन्दा बितिसक्दापनि सरकारले यस बिषयमा चासो नदेखाएको बताए । उनले कृषि अर्थनीति र व्यापार घाटा कम गर्न यस खेतीले सहयोग पुरयाएको भन्दै उनले च्याउखेती किसानलाई नीति बनाएर समेटिनु पर्ने धारणा राखे ।

तथ्यांक अनुसार नेपालमा बार्षिक दुईअर्ब भन्दा बढी नेपालमै उत्पादित च्याउको कारोबार हुदै आएको छ । विश्वभर ३ हजार ८ सय प्रजातिका च्याउ पाइन्छन भने नेपालमै मात्रै १ हजार ५०० च्याउ पाईन्छ । जसमध्ये १ हजार प्रजातिको च्याउ बिषालु हुन्छ भने, अन्य च्याउ तरकारी र औषधीको लागि प्रयोग हुने बताइएको छ । नेपालमा च्याउखेतीमा ३५ हजार किसान आबद्ध रहेका छन भने व्यवसायिक रुपमा च्याउ खेती गर्ने किसानको संख्या चितवनमा ५० को हाराहारीमा छ ।

चितवनमा मात्रै दैनिक १० हजार केजी च्याउ उत्पादन हुने गर्दछ । कार्यक्रममा चितवन च्याउ उत्पादक संघका अध्यक्ष बाबुराम केसी, प्रधानमन्त्री कृषि आधुनिकिकरण,इकाई चितवनका प्रमुख मेघनाथ तिमिल्सिना कृषि ज्ञान केन्द्र, चितवन का प्रमुख राजन ढकाल लगायतले आ आफ्नो धारणा राखेका थिए ।