पार्टीमा रहि भ्रम छर्नेलाई कारवाही गर्ने नेकपाको चेतावनी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी र सरकारका बिरुद्ध जनतामा भ्रम छर्नेगरी अनुशासन र पद्धतीविपरित काम गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ ।

स्थायी कमिटी बैठक पश्चात प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रुपमा जारी गरेको तेस्रो अन्तरपार्टी निर्देशनमा यस्तो उल्लेख गरिएको छ । ‘पार्टी र सरकारका बिरुद्ध भ्रम छर्नेगरी अनुशासन र पद्धतीविपरित बोल्ने, लेख्ने, पार्टी नीतिविपरित भेला, बैठक गर्ने काम बन्द गर्नुपर्दछ । पार्टीलाई विधि र अनुशासनमा चल्ने शक्तिका रुपमा बिकास गर्नुपर्दछ । अनुशासनहीन काम गर्नेलाई कारवाहीको दायरामा ल्याउँनुपर्दछ ।’ अध्यक्षद्धय ओली र दाहालले जारी गरेको अन्तरपार्टी निर्देशनमा उल्लेख गरिएको छ ।

यस्तै निर्देशनमा पार्टी एकता प्रक्रियाका बाँकी काम १५ दिनभित्रमा सम्पन्न गर्न भनिएको छ । पार्टीको प्रकाशन, प्रचार र प्रशिक्षणलाई व्यवस्थित गर्नुपर्ने, संस्थागत निर्णय, बैधानिक व्यवस्था र अनुशासनलाई कडाईका साथ कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिएको छ । आजको राजधानी दैनिकबाट ।