क्रान्तिकारी माओवादीका नेता गजुरेल पक्राउ

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष तथा देशभक्त जनतान्त्रीक मोर्चाका संयोजक सीपी गजुरेल पक्राउ परेका छन् ।

भारतले नेपालको कालापानी लगाएतका सिमा क्षेमा गरेको अतिक्रमणको विषयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन सिंहदरबार जान लागेका गजुरेलसहित क्रान्तिकारी माओवादीका करिब एक दर्जनं कार्यकर्तालाई प्रहरीले सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले गजुरेल पक्राउको पुष्टि गरे । प्रहरीका अनुसार रक्षामन्त्रीलाई ज्ञापन पत्र बुझाउन भनी ठूलो समूह सिंहदरबार प्रवेश गर्न लागेपछि प्रहरीले रोकेको थियो । त्यस क्रममा ढु‌ंगामुढा हुँदा २ जना प्रहरीसमेत घाइते भएका छन् ।

पोखरेलले भने, ‘घाइते प्रहरी निरीक्षक वेद पौडेल र असई मानबहादुर तामाङको उपचार भइरहेको छ । घटनास्थलबाट प्रहरीको दुई मोबाइल पनि हराएको छ ।’ घटनापछि प्रहरीले गजुरेलसहित १० भन्दा धेरैलाई पक्राउ गरेको छ ।