डिआईजीका लागि प्रचण्डको घर धाउँदै आईजीपी

काठमाडौं । कुनै समय यस्तो थियो कि, एआईजी छँदा शैलेन्द्र खनाल दिनहुँजसो तत्कालिन माओवादी केन्द्र तथा हाल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि बलदेब खनाल, वर्षमान पुनलगायतका नेताहरुको घर पुग्ने गर्दथे ।

आईजीपी बन्नका लागि त्यतिबेला खनाल खुलमखुल्ला नेताका घरदेखि भारतीय दूतावाससम्म पुगेको समाचार सर्वत्र छाएको थियो । खनाल आईजीपी बनेपछि पनि प्रचण्डको घर धाउन भने छाडेका छैनन् । तर, अहिलेको समयमा भने उनी आफ्नो लागि नभई आफू निकटका डिआईजीहरुका लागि प्रचण्डको घर धाउने गरेका हुन् । केही दिन अघि आईजीपी खनाल डिआईजीहरुलाई लिएर प्रचण्ड निवास पुगेपछि सशस्त्रमा सनसनी मच्चिएको छ ।

 आईजीपी खनाल आफु निकट डिआईजीहरुको जागिरको अबधि लम्ब्याउनका लागि प्रचण्डकहाँ पुगेका हुन् । केही डिआईजीले जागिर अवधि ६ वर्ष बनाउन सशस्त्र प्रहरी नियमावली संशोधन गराउने चलखेल अघि बढाएपछि खनालले पनि त्यसलाई साथ दिएका हुन । सेवा अबधि ५ वर्ष पुरा गरेर अवकाश पाउन लागेका सशस्त्र प्रहरीका तीन डिआईजीहरु सुरज श्रेष्ठ, बाबुराम पाण्डे र अरबिन्द्र धितालले नियमावली संशोधन गरेर आफ्नो जागिर लम्ब्याउन खोजेका छन् । डिआईजीको पाँच वर्षे पदावधिका कारण आगामी साता उनीहरुले अनिवार्य अवकाश पाउँदैछन् ।

 नियमावली संशोधन गर्दा गलत नजिर बस्ने र तल्लो तहका प्रहरीको करिअरमा असर पर्ने भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गृहसचिव प्रेमकुमार राईले प्रस्ताव नै अगाडि नबढाएपछि आईजीपी खनालको योजना असफल भएको छ ।

 आईजीपी खनालले प्रचण्डमार्फत मन्त्री र सचिवलाई दबाब दिन थालेको पनि गृह स्रोतको भनाई छ । आईजीपी खनालका बिश्वासपात्र डिआईजी सुरज श्रेष्ठका लागि यो सब नाटक गरिएको असन्तुष्ट एक प्रहरी अधिकारीले बताए । सशस्त्रमा सरुवा, बढुवा, टेण्डर र बिदेशमा तालिममा पठाउँदा डीआईजी श्रेष्ठमाथि भ्रष्टाचार गर्ने गरेको आरोप लागेको छ ।

 सशस्त्रका भन्डार, बजेट, लेखा, प्रबन्ध सबैतिर खनाल र श्रेष्ठले आफ्ना निकट एसपी, डीएसपीहरु राखेर खरिदमा ब्रम्हलुट मच्चाउँदै आएका छन् । आईजीपी खनाल श्रेष्ठलाई एआइजी बढुवा गरि आईजीपी बनाउने दाउमा १ बर्षदेखि रातदिन लागेका थिए ।

 तर ७७ हजार सख्या भएको नेपाल प्रहरीमा ३ एआइजी मात्र हुँदा भएको छ । ३७ हजार मात्र भएको सशस्त्रमा तीनै एआइजी छ्न । गृह मन्त्रालयले थप आवश्यक नभएको बताएपछि दरबन्दी थपको प्रयास असफल भयो । आफ्ना विश्वासपात्र डिआईजीको बढुवा नहुने भएपछि आईजीपी खनाल नियमावली परिवर्तन गरि १ बर्ष थप गर्न लागेका छ्न ।

 त्यसको लागि खनाल र श्रेष्ठको टोली साम दाम समेत जे जे गर्नुपर्छ गर्दै बुधबार बिहानैदेखी दौडधुपमा छ । प्रचण्डकोमा कुरा मिलिसकेको हुँदा नियमावली परिवर्तन हुने भयो भन्दै उनीहरुले ढुक्क भएर बसेको सशस्त्र स्रोत बताउँछ । यूनाइटेड पोस्ट साप्ताहिक