आत्महत्या दुरुत्साहन प्रकरण :अनुसन्धान गर्नुको सट्टा मिलापत्र ,मारुती सिमेन्टका अध्यक्ष राठीलाई किन जोगायो प्रहरीले ?

सिराह । मारुती सिमेन्ट उद्योगले तलबलगायतका सुविधा कटौती गरेको विषयमा अधिकारका लागि आन्दोलन गर्दा उल्टै व्यवस्थापनले पेलेको भन्दै एक महिलाले आत्महत्या गरिन् । तर, सिमेन्ट उद्योगले ति महिलाको परिवारलाई ७ लाख ५१ हजार रुपैयाँ दिएर घटनालाई थामथुप पारेको छ ।

 आफ्नो हक हितका लागि आवाज उठाउँदा यसरी आत्महत्या गर्न बाध्य पार्ने सिमेन्ट उद्योगका सञ्चालकलाई न त प्रहरीले पक्राउ गरी अनुसन्धान ग¥यो न त प्रशासनले नै कारबाही प्रक्रिया अगाडि बढायो । पीडित परिवारले उजुरी दिन खोज्दा उल्टै प्रशासनको दबाबमा सहमति गर्न दबाब दिएपछि सिमेन्ट उद्योगको प्रभाव कतिसम्म रहेछ भन्ने कुरा यो घटनाले देखाएको छ ।

 सिराह जिल्लाको गोलबजार नगरपालिका वडा नं–९ स्थित मारुती सिमेन्ट उद्योगमा कार्यरत अनिता पासवानले उद्योग प्रशासनकै कारण आत्महत्या गरेको खुलाशा हुँदा समेत प्रहरी प्रशासनले अझैसम्म पनि कारबाही प्रक्रिया अगाडि बढाएको छैन ।

 दुई पक्षबीच सहमति भएको भन्दै प्रशासन पछाडि हटेको सिमेन्ट उद्योगका एक कर्मचारी बताउँछन् । सिमेन्ट उद्योगले पासवानमाथि दुव्र्यबहार गरेकै कारण उनले झुण्डिएर आत्महत्या गरेको खुलेको थियो । प्रहरीले मारुती सिमेन्ट उद्योगका सञ्चालकलाई आत्महत्या दुरूत्साहनको अभियोगमा अनुसन्धान गर्नुको सट्टा मिलापत्र गराउन भूमिका खेलेको एक कर्मचारीले नाम नवताउने सर्तमा उल्लेख गरे । 

ति कर्मचारीका अनुसार मारुती सिमेन्टका अध्यक्ष नन्दकिशोर राठीले पीडित परिवारलाई ७ लाख ५१ हजार दिएर घटनालाई थामथुम पार्न लगाएका हुन । मारुती सिमेन्टका अध्यक्ष राठी कुमारी बैंक र एनएमबी बैंकका बोर्ड डाइरेक्टर समेत हुन ।

 गत मंसिर ६ गते गोलबजार नगरपालिका ९ घर भएकी अन्दाजी ४५ वर्षीया पासवानले नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेकी थिइन् । मारुती सिमेन्ट स्थापनाकाल देखि नै स्थाई कर्मचारीको रुपमा कार्यरत पासवानले आन्दोलन गरेकी थिइन् ।

 कर्मचारी युनियनकी सदस्य समेत रहेकी पासवानले कर्मचारीको तलब कटौती गरेपछि आवाज उठाएकी थिइन् । आन्दोलन गरेको भन्दै उनलाई मंसिर २३ गते नै निलम्बन गरिएको थियो । पासवानलाई निलम्बन गरिएको पत्र दिएपछी उनी उद्योग प्रवेश गर्न खोज्दा सेक्युरिटी गार्डले उनलाई धम्काउँदै अपमान गरेका थिए । त्यसपछि उनले आत्महत्या गरेकी थिइन् ।

 प्रहरीले गार्डलाई समेत अनुसन्धानको दायरामा ल्याएको छैन । पीडित परिवारले प्रहरीमा उजुरी दिन खोज्दा सिराह जिल्लाका प्रहरी प्रमुख एसपी उमाप्रशाद चतुर्वेदीले सिमेन्ट उद्योगलाई क्षतिपुर्ती दिन लगाएर केसलाई नै डिसमिस गराउन भूमिका खेलेको उनीमाथि आरोप छ ।

 सिमेन्टले कर्मचारीको सेवा सुविधा कटौती गरेपछि विरोध गर्ने अन्य कर्मचारीलाई पनि कामबाट बर्खास्त गरेको थियो । अनिता सहित सम्भा यादव, मोहन प्रशाद यादव, मिथिलेस यादव र विनोद महत्तोलाई स्पष्टिकरण गर्दै निष्कासन गरिएको हो ।

 स्थानियबासीले सिमेन्ट उद्योगकै लापरबाहीका कारण अनिताको हत्या भएको भन्दै आन्दोलन गरेका थिए । कर्मचारीहरुले उद्योग भित्रै टायर बालेर आन्दोलन गर्दा उद्योगले प्रहरीलाई दुरुपयोग गरेर आन्दोलनलाई दबाएको एक कर्मचारीले बताए । सिमेन्ट उद्योगका कारण चार सन्तानकी आमा अनिताले आत्महत्या गरेपछि नाबालक सन्तानको विचल्ली भएको छ । यूनाइटेड पोस्ट साप्ताहिकबाट ।