Breaking News

लोकतन्त्रमाथि टेकेर मात्रै हामी अगाडि बढ्न सक्छौँः संयोजक दाहाल

काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रलाई सुदृढ पार्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीजस्ता उपलब्धिमाथि टेकेर मात्रै हामी अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

नेपाल संवत् ११४६ को शुभ अवसरमा आज सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै संयोजक दाहालले भन्नुभयो, “आज हामी राष्ट्रलाई पुनः एकताबद्ध बनाउँदै अग्रगामी बाटोतर्फ अघि बढाउने मोडमा छौँ । लोकतन्त्रको अग्रगामी ‘सर्भिसिङ’ बिना अहिले देखा परेका जटिलता हल गर्न सकिँदैन ।”

नेपाल संवत् नेपालीको ऐतिहासिक गौरव, सांस्कृतिक पहिचान र राष्ट्रिय एकताको प्रतीक भएको उल्लेख गर्दै संयोजक दाहालले भन्नुभयो, “यो संवत् नेपालीको आफ्नै मौलिक संवत् हो । सबै जातजाति र समुदायको साझा गर्व तथा सिङ्गो नेपाल र नेपाली मात्रको संवत् भएकाले हामी सबैले यसप्रति गर्व गर्नुपर्छ ।”

परिवर्तनका पक्षमा रहेका सबै राजनीतिक शक्तिबीच राष्ट्रिय एकता अहिलेको टड्कारो आवश्यकता भएको उल्लेख गर्दै संयोजक दाहालले संविधानको पूर्ण कार्यान्वयन, गम्भीर आत्मसमीक्षा र सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढ्ने साझा सङ्कल्प नै नेपाल संवत् ११४६ को साँचो शुभकामना हुने बताउनुभयो । रासस