भारतमा मोदी सरकारको गलत निती बिरुद्ध निरन्तर प्रदर्शन:प्रदर्शनमा ज्यान गुमाउनेको संख्या १४ पुग्यो

भारत/ पुस ५ /संशोधनसहितको नागरिकता सम्बन्धी नयाँ कानुनको विषयलाई लिएर आज शनिबार पनि भारतका विभिन्न ठाउँमा विरोध प्रदर्शन भइरहेको छ ।
आज सो कानुनको विरोधमा विभिन्न संघ संगठनले संयुक्त रुपमा केन्द्रीय रेलवे स्टेशनमा वृहत् प्रदर्शन गरेका छन् । ती सबै संगठनहरु नयाँ कानुनको विपक्षमा रहेका छन् । उनीहरुले सो कानुनका विरुद्धमा प्लेकार्ड तथा व्यानर प्रदर्शन गर्दै नाराबाजी गरेका थिए । विरोध प्रदर्शन आयोजना गरिएका ठाउँहरुमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको अधिकारीहरुले जनाएका छन् । कपिपय ठाउँमा प्रदर्शनकारी र सुरक्षाकर्मीहरुबीच झडप भएको छ ।

भारतमा नागरिकतासम्बन्धी नयाँ कानूनलाई लिएर भएका प्रदर्शनका क्रममा उत्तर भारतमा शुक्रबार थप चार जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रबार प्रहरी र प्रदर्शनकारीबीच देशभर भएका झडपमा चारको मृत्यु भएसँगै नागरिकता कानुन संशोधनको विरोधमा जारी प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ । प्रदर्शनका कारण राजधानी नयाँ दिल्लीलगायत खासगरी मुसलमान समुदाय रहेका शहरी क्षेत्रहरूमा जनजीवन प्रभावित बनेको स्थानीय टोलिभिजनहरूले उल्लेख गरेका छन् । प्रदर्शनकारीले विभिन्न ठाउँमा ढुंगामुढा, आगजनी र तोडफोड गरेका छन् भने भीड नियन्त्रणका लागि प्रहरीले विशेष बलको प्रयोग गरेको छ । केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएका बताइएको छ ।

सरकारले हालै ल्याएको नयाँ कानुनी व्यवस्थाले विवादास्पद आप्रवासीलाई भारतको नागरिकता दिने व्यवस्था गरेसँगै देशव्यापीरुपमा आन्दोलन चर्किएको हो । नयाँ व्यवस्थाले पाकिस्तान, बङ्गलादेश र अफगानिस्तानबाट आएको प्रमाण पेस गर्ने हिन्दु, शिख, बौद्ध, जैन, पारसी र इसाइ धर्मावलम्बीले भारतको नागरिकता पाउने भएका छन् । भारतको नागरिकता लिन उनीहरु ११ वर्ष बसेको वा काम गरेको हुनुपर्ने कानूनी व्यवस्था छ । रासस्एएफपी