प्रहरीको क्लिन चितवन अभियान प्रभावकारी र सफल बन्दै :अपराधीहरु धमाधम पक्राउ पर्दै, बिकृती बिसंगति नियन्त्रण हुदै

मिटरब्याजी र अबैध ढुकुटी तर्फ भने प्रहरीको नजर पुग्नै सकेन

सुर्य बराल /चितवन/२, पौष/चितवन प्रहरीले जिल्लामा बिगतदेखि सञ्चालन गर्दै आईरहेको क्लिन चितवन अभियान प्रभावकारी र सफल बन्दै गईरहेको छ । प्रहरीले चितवनमा सामाजिक बिकृती बिसंगति र अपराध न्युनिकरण एवं अपराधीहरु नियन्त्रणको निम्ती सञ्चालन गरिरहेको यो अभियान दिन प्रतिदिन प्रभावकारी एवं सफल बन्दै गईरहेको हो ।
यो अभियान अन्र्तगत चितवन प्रहरीले गत् ६ महिना यता विभिन्न मुद्दामा फरार अभियुक्त तथा आपराधिक घटनामा सङ्लग्न दुई हजार ६०० भन्दा बढी पक्राउ गरि कानुनी कार्बाही गरिसकेको छ । प्रहरीले यहि अबधिमा ७ दर्जन जति फरार अभियुक्तहरुलाई समेत पक्राउ गरी अदालतमा पेश गरेको छ । क्लिन चितवन अभियान अन्र्तगत प्रहरीले यो अबधीमा अपराध मुद्दामा ४४६, अभद्र व्यवहारमा ४१३ जनालाई सरकारी वकिलको कार्यालयमार्फत मुद्दा चलाइएको छ ।

अवैध सट्टेबाजी, नेटवर्किङ ठगी, चोरीको मोटरसाइकल किनबेच गर्ने गिरोह लगाएतका अपराध कर्ममा सम्लग्नहरुलाई धमाधम पक्राउ गर्दै प्रहरीले चिवनलाई क्लिन बनाउदै लगेको छ । प्रहरीले जबरजस्ती वेश्यावृतिमा लगाउने ८ जनालाई पक्राउ गरी छुट्टाछुट्टै मानव बेचविखन तथा ओसारपसार मुद्दा चलाइएको छ ।
चितवन प्रहरीले जुवातास खेल्ने १३३ लाई पक्राउ गरी छुट्टाछुट्टै १६ वटा मुद्दा चलाएकोे छ ।

अवैध लागुऔषध खरिद विक्री तथा ओसापसार गर्ने ६ दर्जनलाई पक्राउ गरी छुट्टाछुट्टै ४ दर्जनजतिलाई मुद्दा चलाएको छ । जिल्लाको पहाडी क्षेत्रमा अवैधरुपमा लगाइएको १५० विघा भन्दा बढी गाँजा नष्ट गरेको छ । ‘क्लिन चितवन अभियान” अन्तर्गत नै प्रहरीले विभिन्न घटनामा सङ्लग्न एक हजार ७४७ लाई सोधपुछ तथा परार्मश गरी छाडिएको छ ।

त्यस्तै जिल्लामा ६ महिनाको अवधिमा सवारी नियम उलङ्घन गरी सवारी चलाउने २१ हजार ५१३ वटा सवारी तथा सवारी चालकलाई कारवाही गरिएको छ । उनीहरुबाट रु एक करोड ६९ लाख २४ हजार राजश्व सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।

अबैध यौनधन्दा गरेको आरोपमा तिन पक्राउ

यसैबिच, क्लिन चितवन अभियानकै प्रहरीले क्रममा चितवनमा अवैध रुपमा यौनधन्दा सञ्चालन गर्ने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । उनीहरुलाई प्रहरीले गत् बिहिबार पक्राउ गरी सोमबार सार्बजनिक गरेको हो । सार्बजनिक गरिएकामा खोेटाङ सगरमाथा होटल एण्ड गेष्ट हाउसका सञ्चालक भरतपुर महानगर २९ जुगेडी बस्ने वर्ष ५० को जंगबहादुर क्षेत्री, उनकी श्रीमती ३९ की निर्मला थापा क्षेत्री र जिल्ला सुनसरी धरान उपमहानगर ८ लेटाङ वस्ने बर्ष २४ की रोशिका राई रहेको एसपी दानबहादुर मल्लले जानकारी दिए ।

दुई जना युवतीलाई होटलको कोठामा बन्धक बनाई विगत लामो समयदेखि बेश्यावृतीमा लगाएको भन्ने सूचनाको आधारमा उनीहरुलार्ई पक्राउ गरेको एसपी मल्लले जानकारी दिए । पक्राउ परेका मध्ये २ जना मुग्लिन र एक जनालाई जुगेडीको होटल सगरमाथाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु तीनै जना विरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको चितवन प्रहरीका प्रवक्ता एकनारायण कोईरालाले जानकारी दिए । पक्राउ परेकाहरुलाई ५दिनको म्याद थपिएको उनले बताए ।

कानुन अनुसार उनीहरुलाई जबरजस्ती बेश्यबृतीमा लगाएको पुष्टि भएमा मानब बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन,२०६४ दफा १५ (ख) बमोजिम १० बर्ष देखि १५ बर्ष सम्म कैद र रु.५० हजारदेखि रु १ लाखसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

चोरीमा सम्लग्न गिरोह नै समातिए 

यसैबीच चितवन प्रहरीले चलाएको क्लिन चितवनको क्रममा प्रहरीले चोरी कार्यमा संलग्न ३ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा सप्तरी राजबिराज नगरपालिका वडा नं. ५ घर भई हाल जिल्ला चितवन भरतपुर म.न.पा.९ डेरा गरी बस्ने बर्ष १८ को महेश यादव, सोही डेरामा बस्ने सप्तरी राजबिराज न.पा.वडा नं.८ घर भई हाल जिल्ला चितवन भरतपुर म.न.पा.९ डेरा गरी बस्ने बर्ष २० को बिबेक यादव र जिल्ला चितवन भरतपुर वडा नं. बस्ने बर्ष २० को संयोग अधिकारीलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट सुन, चाँदी, नगद र महँगा ब्रान्डका रक्सीहरु बरामद गरेको प्रहरीले जनाएको छ ।

मिटरब्याजी र अबैध ढुकुटी तर्फ भने प्रहरीको नजर पुग्नै सकेन 

जिल्लामा क्लिन चितवन अभियान सञ्चालन गरिरहेको चितवन प्रहरीले मिटरब्याजी र अबैध ढुकुटी सञ्चालकहरुलाई भने अहिलेसम्म छुन सकेको छैंन् ।
समाजमा स्वघोषित समाजसेवी तथा बरिष्ठको मुखुण्डो भिरेका तथा केही ब्यबसायी र महिलाहरुको एउटा जमातले सञ्चालन गरिरहेको गैंह्रकानुनी मिटरब्याजी तथा अबैध ढुकुटी तर्फ भने चितवन प्रहरीको अहिलेसम्म ध्यान जान नसकेको आमसर्बसाधरणले गुनासो गरिरहेका छन् ।

चर्को शैतानी ब्याज असुल्ने र ढुकुटीको नाममा चक्रिय जालोमा पारी कयौं सर्बसाधरणको उठीबास लगाउने यस्ता अबैध कारोबारीहरुलाई कार्बाही नहुँदा हजारौं सर्बसाधरण पिडीत भईरहेका छन् । सर्बसाधरणबाट अग्रिम ब्ल्याङ्ग चेक लिई शैतानी ब्याज धन्दा र अबैध ढुकुटीको कारोबार गर्नेहरुले आर्थिक लगानी र सहयोगको नाममा माकुरीजाल बिच्छयाएर गर्ने यस्तो अबैध धन्दा निर्बिवाद चलिरहेको भएपनि प्रहरी प्रशासनको ध्यान नपुग्दा उनीहरुको अबैध कारोबारले बैधानिक्ता पाएको जस्तो भान हुन्छ ।

शैतानी ब्याज र चक्रिय माकुरीजालको पासो थाप्ने यस्ता अबैध कारोबारीलाई चितवन प्रहरीले कहिले कार्बाही गर्ने हो त्यो भने आगामी दिनले देखाउला ।