कुहिएको चामल प्रशोधन गर्न खोजेपछि खाद्यको गोदाममा छापा


कौशिला कुँवर /काठमाडौं /खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंको थपाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको अञ्चल कार्यालयको गोदाममा छापा मारेको छ ।

कम्पनीले नष्ट गर्न राखेको चामल परीक्षण गरेर प्रशोधन गर्ने प्रयास गरेको समाचार बाहिर आएपछि विभागको नेतृत्वमा जिल्ला प्रशासान कार्यालय काठमाडौंसहितको टोलीले मंगलबार छापा मारेको हो । कम्पनीले आप्mनो कमजोरीलाई ढाकछोप गर्न विभागलाई झुक्याएर नष्ट गर्न राखेको चामल परीक्षण गरेर गैरकानुनी काम गर्ने प्रयास गरेको पाइएको छ ।

खाद्यका कर्मचारीको चरम लापर्बाहीका कारण गोदाममै कुहिएको लाखौं मूल्य बराबरको चामलसम्बन्धी समाचार राजधानी दैनिकमा आएपछि विभागको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले छापा मारेको विभागले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गर्न थालेपछि कारबाहीमा पर्ने डरले विभागलाई पत्तै नदिएर कुहाएको चामल परीक्षण गरेर फर्जी कागज मार्फत चामललाई राम्रो बनाउने प्रक्रियाको थालनी गरेको स्रोतको दाबी छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अनुगमन महाशाखाका निर्देशक किशोर खत्रीले भने, ‘विभागलाई झुक्याएर नष्ट गर्न भनेर राखेको चामल परीक्षण गर्नु गैरकानुनी कार्य हो ।मंगलबार विभाग र जिल्ला प्रशासन कार्यालयको टोलीले छापा मारेर विभागलाई टिप्पणी (मुचुल्का) लेख्न लगाएर गोदामको चामल हाललाई यथावत राख्न निर्देशन दिएकोे छ । ‘कम्पनीलाई गोदाममा कुहिएको चामल तत्काल नष्ट गर्ने भनेर पत्र पठाउने तयारीमा छौं । कम्पनीले जिल्ला प्रशासन कार्यालय, विभाग र अन्य सरोकारवाला निकायको उपस्थितमा गोदाममा राखेको कुहिएको चामल नष्ट गर्नुपर्छ ।’ निर्देशक खत्रीले भने । कम्पनीले अझै बदमासी गर्ने प्रयास गरेमा सिधै खाद्य ऐनबमोजिम कारबाही हुने निर्देशक खत्रीको भनाइ छ ।

कम्पनीको थापाथलीस्थित अञ्चल कार्यालयको गोदाममा ४ सय ८७ क्विन्टल २२ किलो बासमती चामल कुहिएको समाचार राजधानी दैनिकमा प्रकाशित भएलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थाल्दै कम्पनीलाई सम्पूर्ण विवरण पठाउन निर्देशन दिएको थियो । अख्तियारले कम्पनीलाई ८ मंसिरमा गोदाममा मौज्दात अन्य खाद्यवस्तुको विवरण, अवस्था र भण्डारण गरिएको खाद्यवस्तुको गुणस्तर प्रमाणपत्रसहित उपलब्ध गराउन भनेको थियो ।

अख्तियारको निर्देशनमा खाद्य कम्पनीले गोदाममा थन्किएको चामलको तथ्यांक बुझाए पनि चामल खान मिल्ने वा नमिल्ने कुनै रिपोर्ट भने बुझाएको छैन । अख्तियारको निर्देशनमा चामलको गुणस्तर रिपोर्ट बुझाउन चामलको गुणस्तर परीक्षणका लागि २३ मंसिरमा विभाग पठाएको थियो । कम्पनीको गुणस्तर रिपोर्ट आएपछि कुहिएको चामल प्रशोधन गरेर बिक्रीवितरण गर्ने योजना कम्पनीले बनाएको थियो । आर्थिक वर्ष २०७१/७२ मा कम्पनीले विभिन्न जिल्लाबाट खरिद गरेको धान जनकपुरस्थित मिलमा कुटाएको थियो । कम्पनीका अनुसार आव २०७२/७३ मा जनकपुर मिलबाट ल्याइएको करिब ५ हजार क्विन्टल चामलमध्ये ४ सय ८७ क्विन्टल २२ किलो बासमती चामल कुहिएको छ । कम्पनीको धान किन्दा र कुटाउँदासम्मको लागत खर्च प्रतिकिलो ६८ रुपैयाँ मात्र परेको थियो ।

थापाथलीस्थित गोदाम नम्बर २४ मा ३ सय २३.१७ क्विन्टल र ३० नम्बर गोदाममा १ सय ६४.०५ क्विन्टल बासमती चामल कुहिएको पाइएको छ । कम्पनीले सो बासमती चामल प्रतिकिलो ८३ रुपैयाँका दरले बिक्री गर्दै आएको छ । प्रतिकिलो ८३ रुपैयाँका दरले हिसाब गर्दा ४० लाख ४३ हजार ९ सय २६ रुपैयाँको चामल गोदाममै कुहिएको अवस्थामा छ ।राजधानी दैनिकबाट