भरतपुरको तरकारी बजारमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा

चितवन /चितवनको भरतपुर २ क्षेत्रपुरमा मा निजी क्षेत्रले सञ्चालन गरेको तरकारी बजारमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा आएको छ ।
चितवनको तरकारी बजारमा बिक्री गर्ने तथा यहाँबाट अन्यत्र निर्यात गर्ने तरकारीको विषादी परीक्षण गर्ने उद्धेश्यले कृषि ज्ञान केन्द्र चितवनले सो प्रयोगशाला सञ्चालनमा ल्याएको हो ।

प्रयोगशालाको उद्घाटन गर्दै प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले व्यवसायिक कृषकहरु प्राङ्गारिक उत्पादनतर्फ अगाडि बढ्नुपर्ने बताए । विषादी प्रयोग गरेर उत्पादित खाद्यान्नका कारण मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै लामाले विषादीरहित तरकारी उत्पादनका लागि प्राङ्गारिक उत्पादनमा जोड दिएका हुन् । सो प्रयोगशाला उद्घाटनका क्रममा प्रदेश ३ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर योगेन्द्रकुमार कार्कीले प्रदेश नम्बर ३ को पाँच जिल्लामा विषादी परीक्षण प्रयोगशाला स्थापना गरिएको जानकारी दिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य विजय सुवेदी, कृषि प्रबद्र्धन बजार विकास प्रालिका अध्यक्ष शालिग्राम घिमिरे, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाललगायतले मन्तव्य राखेका थिए । कार्यक्रम जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीको अध्यक्षतामा भएको थियो ।