“बन्दि किसान रिहाई गर, बिचौलीया मुर्दाबाद“, भन्दै भरतपुरमा अण्डानै रोडमा फ्याँकेर अण्डा किसानहरुको प्रदर्शन

सुर्य बराल/चितवन /नेपाल पोल्टी ब्यबसायी संघको कार्यालयमा भएको सामान्य भनाभन र बिवादकै आधारमा प्रहरी लगाएर षडयन्त्रपुर्बक अण्डा उत्पादक किसानलाई पक्राउ गरि अनाहकमा हिरासतमा राखिएको बिरोधमा भरतपुरमा अण्डा रोडमा नै फ्याँकेर अण्डा किसानहरुले नाराजुलुस सहित प्रदर्शन गरेका छन् । आज मंगलबार जिल्ला प्रहरी कार्यालय चितवन नजिकै जम्मा भएका एक सय भन्दा बढी अण्डा उत्पादक किसानहरुले नारा जुलुस सहित भरतपुरको अस्पताल रोडमा १५ पेटि ९१०५ क्रेट० अण्डा रोडमा फालेर बिरोध जनाएका हुन् । सो क्रममा अण्डा किसानहरुले “बन्दि किसान रिहाई गर, बिचौलीया मुर्दाबाद, अण्डा संघ जिन्दावाद” भन्ने नारा लगाउदै पक्राउ परेका ५ जना अण्डा उत्पादक किसान बिरोध गर्दै पक्राउ परेकालाई रिहाईको माग गर्दै १ घण्टा प्रदर्शन गरेका थिए ।

सो कार्यक्रमको नेतृत्व नेपाल अण्डा उत्पादक संघका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक किरण भुषण ओलीले गरेका थिए । उनले प्रहरीले पक्राउ गर्नुको कुनै खास कारण नभएको बताउदै गत मंसिर २६ गते प्रमुख जिल्ला अधिकारीको निर्देशन बमोजिम आन्तरीक रुपमा विवाद समाधान गरी निर्धारित मूल्य कार्यान्वयनको लागि त्रिपक्षिय भेला बोलाइएकोमा सप्लायर्सहरु भेलामा उपस्थित नभई आफुखुसी बैठक बसी अनाधिकृत रुपमा एकलौटी ढंगले अण्डाको मूल्य निर्धारण गरिएको र २७ गते सप्लायर्स बैठकमा अगुवा कृषकहरु गई निर्धारित मुल्य आम किसानको हित बिपरीत भएको भनी आफ्ना कुराहरु राख्दा नाटकीए ढंगबाट अभद्र ब्यवहार मुद्धा लागाई ६ जनालाइ किटानी जाहेरी दिईएकोमा ५ जना पक्राउ परेको जानकारी दिए ।

उनले पक्राउ परेकालाई तुरुन्त बिनासर्त रिहाइ गर्न प्रशासन समक्ष माग पनि राखे । उनले गत बर्ष देखिनै अण्डा र ब्रोइलर कुखुराको भाउ नआएको बताउदै अहिले झण्डै करिब २०० भन्दा बढि अण्डा उत्पादकको खोर रित्तीएको र किसानहरुको अन्तिम अवस्था आएको कारणले बाध्य भएर किसानहरु भनाभनको अवस्थामा उत्रिएकोे बताए ।
उनले बिचौलीयाहरुलाई अण्डाको मुल्य तोक्ने अधिकार नभएको बताउदै अण्डा संघले बढाएको मुल्यलाई घटाइ रेट तोक्ने अधिकार नभएको पनि बताए । उनले दानाको भाउ प्रति केजी रु ५५ बाट बढेर रु ७५ रुपैया पुग्ने अवस्था आएको बताउदै कति किसानहरु बिस्थापितको अवस्थामा पुगेको बताए ।
बिरोध र्यालीमा नेपाल कुखुरा पालक किसान संघका केन्द्रिय अध्यक्ष झनक प्रसाद पौडेल, अण्डा संघका महासचिव प्रविण केसी, कोषाध्यक्ष राजकुमार श्रेष्ठ, सदस्य नेत्र हमाल लगाएतका ८० भन्दा बढि अण्डा उत्पादक किसानहरुको उपस्थिति रहेको थियो ।
अण्डा उत्पादक किसानहरु क्रमशः भरतपुर ६ का प्रकाश अधिकारी, भरतपुर २३ का आनन्द मास्के, कालिका ६ का रामहरि केसी, कालिका ६ का दिपेश्वर केसी र भरतपुर १४ का राजेन्द्र साँखीलाई प्रहरीले गत शनिबारदेखि अभद्र ब्यबहारमा ५ दिनको म्याद थप गरी हिरासतमा राखेको छ ।