चितवन प्रहरीको क्लिन चितवन अभियान प्रभावकारी बन्दै: गोप्य कोठामा बसी यौन धन्दा गर्ने सहित तीनजना नियन्त्रणमा

सुर्य बराल/चितवन, १ पौष । चितवन प्रहरीको क्लिन चितवन अभियान प्रभावकारी बन्दै गईरहेको छ । प्रहरीले चितवनमा सामाजिक बिकृती बिसंगति र अपराध न्युनिकरण एवं अपराधीहरु नियन्त्रणको अभियान सञ्चालन गरिरहेको छ, जुन दिन प्रतिदिन प्रभावकारी बन्दै गईरहेको हो । 

सोही क्रममा चितवन प्रहरीले चितवनमा अवैध रुपमा यौनधन्दा सञ्चालन गर्ने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । क्लिन चितवन अभियानको क्रममा प्रहरीले अवैध यौनधन्दा सञ्चालन गरेकाको अभियोगमा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेकाहरुमा खोटाङ सगरमाथा होटल एण्ड गेष्ट हाउसका सञ्चालक भरतपुर महानगर २९ जुगेडी बस्ने वर्ष ५० को जंगबहादुर क्षेत्री, उनकी श्रीमती ३९ की निर्मला थापा क्षेत्री र जिल्ला सुनसरी धरान उपमहानगर ८ लेटाङ वस्ने बर्ष २४ की रोशिका राई रहेको एसपी दानबहादुर मल्लले जानकारी दिए ।

दुई जना युवतीलाई होटलको कोठामा बन्धक बनाई विगत लामो समयदेखि बेश्यावृतीमा लगाएको भन्ने सूचनाको अधारमा उनीहरुलार्ई पक्राउ गरेको एसपी मल्लले जानकारी दिए । प्रहरीले उनीहरुलाई बिहीबार राती नै पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये २ जना मुग्लिन र एक जनालाई जुगेडीको होटल सगरमाथाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु तीनै जना विरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको चितवन प्रहरीका प्रवक्ता एकनारायण कोईरालाले जानकारी दिए । पक्राउ परेकाहरुलाई ५दिनको म्याद थपिएको उनले बताए ।

कानुन अनुसार उनीहरुलाई जबरजस्ती बेश्यबृतीमा लगाएको पुष्टि भएमा मानब बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन,२०६४ दफा १५ (ख) बमोजिम १० बर्ष देखि १५ बर्ष सम्म कैद र रु.५० हजारदेखि रु १ लाखसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

चोरीमा सम्लग्न गिरोह नै समातिए ।
यसैबीच चितवन प्रहरीले चलाएको क्लिन चितवनको क्रममा प्रहरीले चोरी कार्यमा संलग्न ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सप्तरी राजबिराज नगरपालिका वडा नं. ५ घर भई हाल जिल्ला चितवन भरतपुर म.न.पा.९ डेरा गरी बस्ने बर्ष १८ को महेश यादव, सोही डेरामा बस्ने सप्तरी राजबिराज न.पा.वडा नं.८ घर भई हाल जिल्ला चितवन भरतपुर म.न.पा.९ डेरा गरी बस्ने बर्ष २० को बिबेक यादव र जिल्ला चितवन भरतपुर वडा नं. बस्ने बर्ष २० को संयोग अधिकारीलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट सुन, चाँदी, नगद र महँगा ब्रान्डका रक्सीहरु बरामद गरेको प्रहरीले जनाएको छ ।