दैनिक १० जनाको ज्यान जाने गरि सडक दुर्घटना ! सरकार अभियान बिहिन


काठमाडौं । पछिल्लो समय सर्वसाधारणको अकालमै ज्यान जाने गरी ठूला सडक दुर्घटना बढेर गएको छ । सिन्धुपाल्चोकमा आइतबार बस दुर्घटना १५ जनाको ज्यान गयो । त्यस्तै, मंसिर दोस्रो साता अर्घाखाँचीमा बस दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो । गत कात्तिक तेस्रो साता सिन्धुपाल्चोककै सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाले ज्यान गुमाएका थिए ।

गत आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने हरेक दिन सरदर ६÷७ जनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको थियो । चालू आर्थिक वर्षको अहिलेसम्मको तथ्यांक पल्टाउने हो भने यो संख्या बढेर दोब्बर बढी हुने अवस्था आएको छ । अहिले सडक दृर्घटनाबाट दैनिक १० बढीको अकालमा मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ । यसरी दिनदिनै हुने सडक दुर्घटनाबारे महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठ भन्छन्, ‘सडक बाटो र मौसमको अवस्था, गाडी र गाडी चालकको अवस्था, गाडीको क्षमता र गाडीको गतिको कारण दुर्घटना हुने हो । ठाउँअनुसार यिनै कारणले दुर्घटनामा भूमिका खेलिरहेको हुन्छ ।’

सवारी दुर्घटनामा सरकार र व्यवसायीबीच आरोप–प्रत्यारोप लाग्ने गरेको छ । सरकारले व्यवसायी र चालकलाई दोष दिने गरेको पाइन्छ । व्यवसायी भने सरकारले समयमै बाटो मर्मत सम्भार नगर्दा दुर्घटना निम्तने गरेको गुनासो गर्छन् । सरकारले सडकलाई संवेदनशील क्षेत्र मानेर भरपर्दो, सुरक्षित सडक र सवारी बनाउने विशेष ठोस कदम अघि सार्न चुक्दा बढी दुर्घटना हुने गरेको पाइन्छ । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले सरकारले सडक मर्मत सम्भारमा ध्यान नदिँदा दुर्घटना बढेको बताउँछन् । ‘पछिल्ला ठूला दुर्घटना सबै ग्रामीण भेगका कच्ची सडकमा भएका छन्, सरकारले सडक मर्मत सम्भार तथा व्यवस्थित नगर्दा दुर्घटना बढेको हो,’ उनले राजधानीसँग भने ।

हाल देशभर सडक खन्ने होडबाजी नै चलेको छ तर भत्काइएको सडक महिनौंसम्म अलपत्र अवस्थामा छन् । सरकारले सबै सडक तथा राजमार्ग नियमित रूपमा कालोपत्रे गर्न तथा खाल्टाखुल्टी पुर्न सकेको छैन । यातायात क्षेत्रका विज्ञका अनुसार सरकारले सडक सुरक्षामा चासो नदिँदा नै दुर्घटना निम्तने गरेको छ । सुरक्षामा केन्द्रित भई व्यवस्थित तरिकाले सडकको जाँच गर्ने सडक सुरक्षा परीक्षण ९रोड सेफ्टी अडिट०लाई नेपालमा महŒव नै दिइएको छैन । १० प्रतिशत सडकको पनि रोड सेफ्टी अडिट गरिएको पाइँदैन ।

स्थानीय तहहरूले ठूलो संख्यामा सडक निर्माण गरिरहेका छन् । ती सडक इन्जिनियरिङ डिजाइनबिना नै निर्माण हुँदा त्यसले पनि दुर्घटनालाई निम्तो दिइरहेको विज्ञहरू बताउँछन् । सडक विभागका निर्देशक तथा प्रवक्ता शिवहरि घिमिरेले स्थानीय तहमा इन्जिनियरिङ डिजाइनबिना नै जथाभावी सडक निर्माण गरिनुले कुनै पनि समयमा मानवीय दुर्घटना निम्त्याउने बताउँछन् । अध्ययनले भने चालकको लापरबाहीका कारण बढी मात्रामा सडक दुर्घटना हुने गरेको देखाएको छ । चालकले लापरबाही गरेर सवारी हाँक्ने, जथाभावी ओभरटेक गर्ने, अति तीव्र गतिमा हाँक्ने, मादकपदार्थ सेवन गरेर र गाडी ओभरलोड गरी चलाउनाले बढी दुर्घटना हुने गरेको विभिन्न अध्ययनले औंल्याएको छ ।

यसअघि सिन्धुपाल्चोकमै बस दुर्घटना हुँदा १७ को ज्यान जाँदा ४६ जना घाइते भएका थिए । त्यसबाट क्षमताभन्दा बढी यात्रु बसमा चढाउँदा दुर्घटना भएको देखिएको छ । ट्राफिक प्रहरीले पनि क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीलाई कडा कारबाही गर्न नसक्दा त्यसले पनि दुर्घटनामा बढावा दिने गरेको पाइन्छ । विज्ञहरू गाडी मर्मत नगरिनु र चालकलाई सचेत नगराउनु पनि दुर्घटनाको कारण भएको बताउँछन् । २० वर्ष अगाडिका गाडी दर्ता हेरफेर र नामसरी गर्न नपाउने व्यवस्था २०५६ मा गरे पनि यसको कार्यान्वयन फितलो छ । यसका कारण पनि दुर्घटना हुने गरेको छ । राजधानी दैनिकबाट।