सिन्धुपाल्चोकमा बस खस्दा १४ जनाको मृत्यु, १८ घाइते

काठमाडौँ/देशभर गाडी दुर्घटनाका खबर सार्वजनिक भइरहेका बेला दोलखा कालिन्चोक मन्दिर दर्शन गरेर फर्किएको बस सिन्धुपाल्चोकमा दुर्घटनामा परेको छ ।

आइतबार भक्तपुरबाट कालिञ्चोकतर्फ रिजर्भ गरी फर्किंदै गरेको बस बिहान ८ बजे सिन्धुपाल्चोकमा दुर्घटनामा परेको हो ।

बा ४ ख ४४६८ नम्बरको बसका यात्रुमध्ये १४ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिएका छन् । उनका अनुसार घाइतेको संख्या यकिन हुन नसक्दा बसमा कति यात्रु थिए भन्ने अनुमान गर्न सकिएको छैन ।

बस सुनकोशी गाउँपालिका–७ स्थित छ किलो भन्ने ठाउँमा दुर्घटनामा परेको हो । सो ठाउँ लामोसाँघु–जिरी सडकखण्डअन्तर्गत पर्दछ ।

बस सडकबाट पाँचसय मिटर तल खसेको थियो । दुर्घटनामा आठ जना महिला, तीन जना पुरुष, दुई बालक र एक बालिका गरी १४ जनाको शव भेटिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका १८ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।