धनुषा विस्फोटमा टाईम बमको प्रयोग : प्रहरी


जनकपुर । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ का ४६ वर्षीय राजेश साह शुक्रबार राति सुत्नुअघि शौचालय जान लागेका थिए । त्यति नै बेला उनले घरको भित्री ढोकामा रातो झोला झुन्डिइरहेको देखे । नजिकै पुगेर हेर्दा झोलामा प्रेसरकुकर थियो । उनी आत्तिँदै कोठामा पसे । अनि हतारहतार श्रीमती र छोराछोरीलाई लिएर बाहिर निस्किए ।

त्यसपछि साह सिधै इलाका प्रहरी कार्यालय पुगे । उनले प्रहरीलाई घरमा बम राखिएको जानकारी गराए । प्रहरी निरीक्षक अमिर दाहाल खाना खाइवरि कार्यालयमै बसिरहेका थिए । लगत्तै उनी असई मोहम्मद मुस्तफालाई लिएर साहको घरतर्फ लागे ।
इन्स्पेक्टर दाहालले बाटोबाटै सेनाको बम डिस्पोजल टोलीलाई खबर गरे । बम होरहोइन भन्ने यकिन गर्न भन्दै उनीहरू घटनास्थल पुगे । प्रहरी पुग्दा साहको घरवरिपरि मानिसहरू भेला हुन थालेका थिए । त्यतिबेला रातिको करिब १२ बज्नै लागेको थियो । वर्षासँगै आकाशमा गड्याङ्गुडुङ चलिरहेको थियो ।

दाहालले भीड पन्छाउन सुरक्षाकर्मीलाई आदेश दिए र आफू बम राखिएको ढोकातिर अघि बढे । उनीसँगै घरधनी साह र उनका छोरा आनन्द पनि थिए । ‘उनीहरू ३–४ कदम परै हुँदा ठूलो आवाजसहित बम पड्कियो,’ जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले भने, ‘कसैले बम नछुँदै पड्कियो ।’ इन्स्पेक्टर दाहालले खबर गरेपछि महेन्द्रनगरमै रहेको नेपाली सेनाको बम डिस्पोजल टोलीतयार हुँदै थियो । बम नै हो कि होइन, यकिन गरेर फेरि खबर गर्छु भन्दै उनी साहको घरमा गएका थिए । ‘डिस्पोजल टिम तयार हुँदै थियो,’ सेनाका कर्णेल अञ्जन रूपाखेतीले भने, ‘हाम्रो टोली घटनास्थल नपुग्दै बम पड्कियो ।

’मध्यरातको त्यो विस्फोटमा इन्स्पेक्टर दाहाल, साह र उनका छोरा आनन्दको मृत्यु भयो । साह र आनन्दको घटनास्थलमै र दाहालको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार बिहान मृत्यु भएको हो । विस्फोटमा साहका कान्छा छोरा १४ वर्षीय प्रकाश साह, १९ वर्षीया अन्जलीकुमारी साह, ७३ वर्षीय भिखारी साह र प्रहरी जवान रिझनाथ महतो घाइते भए ।विस्फोटको प्राविधिक अनुसन्धान थालेको सेनाले घटनास्थलबाट पड्केको बमको टुक्रा र अवशेष संकलन गरेको छ । ‘बमको टुक्रा र कणलाई हाम्रा विशेषज्ञले केलाउँदै छन्,’ सेनाको महेन्द्रनगर गणका प्रमुख कर्णेल रूपाखेतीले भने । केही प्रत्यक्षदर्शीले प्रहरीले छोएलगत्तै बम विस्फोट भएको बताए पनि प्रहरीका प्रदेश प्रमुख डीआईजी प्रद्युम्न कार्कीले आफैं पड्किएको जनाए ।

‘टाइमर सेट गरेर वा रिमोटबाट पड्काएको देखिन्छ,’ कार्कीले भने, ‘बमको प्रकृति थाहा नहुँदा ठूलो क्षति भयो । यस्तो बम उच्च प्रविधियुक्त ज्ञान भएकाले मात्रै बनाउन सक्ने उनले बताए । प्रहरीको छुट्टाछुट्टै टोलीले घटनाको अनुसन्धान गरिरहेको उल्लेख गर्दै उनले भने, ‘राजेशले रकम लगानी गर्ने र व्यापार–व्यवसाय गर्ने भएकाले ऋण लिनेहरूबाटै विस्फोट गराइएको हो कि भन्ने आशंकामा अनुसन्धानको दायरा फराकिलो बनाएका छौं,’ उनले भने ।

“११ बजे जडान, १२ बजे विस्फोट”

धनुषामा भएको शक्तिशाली विस्फोट ‘कुकरजडित टाइम बम’ भएको प्रहरीले जनाएको छ । बम शुक्रबार राति ११ बजे जडान गरिएको र १२ बजे पड्किएको प्रहरीको बुझाइ छ । प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले घटनास्थलबाट टाइम बम भएको प्रमाण फेला परेको बताए । ‘विस्फोट भएको वस्तु टाइम बम हो, घटनास्थलबाट त्यसलाई पुष्टि गर्ने चिप्ससहितका सबुत प्रमाण फेला परेका छन्,’ उनले भने, ‘कसैले छोएर पड्किएको वा पड्काइएको होइन, राति ११ बजे जडान गरेर १२ बजे पड्किएको देखिन्छ ।’ कान्तिपुर दैनिकबाट ।