खैरहनीमा सुरक्षित गर्भपतन र परिवार नियोजन बारे अन्तरक्रिया

चितवन । खैरहनीमा सुरक्षित गर्भपतन र परिवार नियोजन सम्बन्धि अन्तरक्रिया गरिएको छ । ग्रीन तारा नेपालले सञ्चालन गरेको महिला स्वास्थ्य परियोजनाअन्तर्गत सुरक्षित गर्भपतन र परिवार नियोजन आइयुसिडीको बारेमा सेवाग्राही तथा सरोकारवालाहरुका बीच अन्तरक्रिया गरिएको हो । कार्यक्रममा महिलाहरुले गर्भपतन तथा परिवार नियोजनका लागी सरकारी स्वास्थ्य संस्था भन्दा निजी स्वास्थ्य संस्थामा छिटो र सहज सेवा पाइने बताए । सरकारीमा ढिलासुस्ती हुने, औषधि तथा आवश्यक सामग्रीहरुको अभाव हुने, स्वास्थ्यकर्मी झर्किने, झन्झट मान्नेजस्ता समस्या रहेको उनीहरुले गुनासो गरे । जवाफमा खैरहनी प्रथामिक स्वास्थ्य केन्द्रका टेकनाथ बसेलले नगरपालिका भइसकेपछि सेवा प्रवाहमा उल्लेख्य सुधार भइसकेको दाबी गरे । उनले निजी अस्पतालसरह नै सरकारीमा पनि सेवा सुविधा सुरु भइसकेकाले निर्धक्क सेवा लिन सकिने बताए । स्थानीय स्वयमसेविकाहरुले पनि महिलाहरुलाई निजीमा भन्दा सरकारी स्वास्थ्य संस्थामा सेवा लिन अनुरोध गर्ने गरेको बताए । खैरहनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम शर्माले निजीले दिने सेवा पनि प्रभावकारी हुने भएपनि सेवाशुल्क महंगो लिन नहुने बताए । उनले निजी क्षेत्रको सेवाप्रवाहको रेकर्ड प्राप्त नहुदाँ समस्या आउन सक्ने बताए । कार्यक्रममा नगरपालिकाका जनस्वास्थ्य अधिकृत अनुप अधिकारीले सुरक्षित गर्भपतन, परिवार नियोजन, स्वास्थ्य बिमा लगायत बिषयमा सहजीकरण गरेका थिए । उनले गर्भपतन र परिवार नियोजन महिलाको अधिकार भएकाले महिलाले चाहेमा जुनसुकै बेला सेवा लिन सकिने बताए । ग्रीन तारा नेपालका कन्ट्रि डाइरेक्टर रामचन्द्र सिलवालले सरकारी पहुँच नभएको क्षेत्र र समुदायलाई लक्षित गर्दै निजी स्वास्थ्य संस्थाहरुसँगको सहकार्यमा महिला स्वास्थ्य परियोजना सञ्चालन गरिएको जानकारी दिए । यो परियोजनाअन्तर्गत महिला तथा किशोरीहरुको सुरक्षित गर्भपतन, परिवार नियोजनको साधन आइयुसिडी प्रयोग लगायत सेवाहरु दिइदै आएको उनको भनाई थियो । ग्रीन तारा नेपालका कार्यक्रम अधिकृत श्याम बासुकलाले चितवनको खैरहनी नगरपालिकासँगै रत्ननगर, माडी र भरतपुर महानगरपालिकामा कार्यक्रम सञ्चालन गरिरहेको बताए । जसका लागी खैरहनीमा रहेको चौधरी पोलिक्लिनिकसँग सहकार्य गरिएको उनले जानकारी दिए । संस्थाले निजी स्वास्थ्य संस्थाका चिकित्सकलाई बिशेष तालिम प्रदान गरि यो परियोजना सञ्चालन गरेको हो । अन्तरक्रिया कार्यक्रममा विभिन्न सेवाग्राही महिलाहरु, स्वयमसेविका तथा स्वास्थ्यकर्मीहरु, पत्रकार तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।