भरतपुरको राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा दर्शकको घुईचो

चितवन । चितवनको भरतपुरमा गत् शुक्रबारदेखि सुरु भएको चौँथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा दर्शकको घुईचो बढेको छ ।
जिल्ला जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रहेको र त्यहाँबाट किसानलाई समेत अवलोकनका लागि ल्याइएका कारण प्रदर्शनीमा अवलोकनकर्ताहरुको सहभागिता ह्वात्तै बढेको हो ।
प्रदर्शनी अवलोकनमा कुनै टिकट नलाग्ने भएको कारण पनि अवलोकनकर्ताहरुको उपस्थिति राम्रो भएको बुझिएको छ । मंसिर ९ गतेसम्म चल्ने प्रदर्शनीमा विभिन्न २० वटा मुलुकका दुई हजार भन्दा बढी आधुनिक कृषि यन्त्र, औजार, उपकरण तथा प्रविधिहरु राखिएका छन् । प्रदर्शनीको ७० जिल्लाका ३५ हजार भन्दा बढी कृषकले अवलोकन गर्ने अपेक्षा लिइएको छ ।
१० करोड रुपैयाँ भन्दा बढी रकमको कारोबार हुने अनुमान गरिएको प्रदर्शनीमा कृषक, नीति निर्माता, उद्यमी, व्यवसायी, सरकारी एवम् गैह्र सरकारी संस्था, कृषक समुह, कृषि सहकारी संस्था, वैज्ञानिक, शिक्षक, विद्यार्थीहरुले अवलोकन गर्ने कृषि मेसिनरी व्यवसायी संघका महासचिव कृष्ण शर्माले बताए । कृषि तथा पशुपन्छी मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्दन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, प्रदेश नम्बर ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, नेपाल कृषि मेशिनरी व्यवसायी संघको संयुक्त आयोजनामा सुरु भएको प्रदर्शनीमा एक सय ५० भन्दा स्टल राखिएका छन् ।