नेपाल चेपाङ संघद्वारा तीनजना पत्रकार सम्मनित

चितवन, ७ मङसिर । अल्पसङख्यक चेपाङ समुदायको क्षेत्रमा समाचारको माध्यमबाट योगदान गरेको भन्दै चितवनका तीनजना पत्रकारलाई नेपाल चेपाङ संघले सम्मान गरेको छ ।
लामोसमयदेखि स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यममा काम गर्दै आउनु भएका चितवनका गोरखापत्रकर्मी शालिग्राम नेपाल, मकवानपुरका शिवकुमार काशी र कान्तिपुरकर्मी रमेशकुमार पौडेललाई शनिवार भरतपुरमा प्रशंसापत्रले सम्मान गरेको हो । चेपाङ समुदायको हकअधिकार र उनीहरुको समस्याका विषयमा सञ्चार माध्यम मार्फत उजागर गरेको भन्दै सम्मान गरेको नेपाल चेपाङ संघ केन्द्रीय समितिका अध्यक्ष जितेन्द्र चेपाङले जानकारी दिनु भयो ।
कार्यक्रममा चेपाङ समुदायको उत्थान, शिक्षा र स्वास्थ्यको क्षेत्रमा सामाजिक सेवाको माध्यमबाट काम गरेको भन्दै मकवानपुर राक्सीराङको लिसा हिमालयन इभी र चितवनको गामवेसी चेपाङ घरलाई सम्मान गरेको छ । नेपाल चेपाङ संघको ३ नं. प्रदेशको अधिवेशन कार्यक्रममा ३ नं. प्रदेशका कानुन मन्त्री शालिकराम जमरकट्टेलले प्रशंसा पत्र दिनु भएको थियो ।
मकवानपुरको राक्सीराङ क्षेत्रमा रहेर १० वर्षदखि चेपाङ समुदायको शिक्षा स्वास्थ्यको क्षेत्रमा लिसा हिमालयन इभीले काम गर्दै आएको संविधान सभा सदस्य गोविन्दराम चेपाङले जानकारी दिनु भयो । चितवनको रत्ननगरमा रहेको गामवेसीको चेपाङ घरका केपीकिरण शर्माले १० वर्ष भन्दा अगाडिदेखि विपन्न चेपाङलाई निःशुल्क खानवस्न र पठाउने काम गर्दै आउनु भएको छ ।
कार्यक्रममा ३ प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री जमरकट्टेलले गरिब विपन्नको घरघरमा सरकार पुग्न नकसेको बताउनु भएको छ । लामो समयपछि आएको परिवर्तनले जनप्रतिनिधिलाई अधिकार स्थानीय तहसमम दिएपनि त्यो अधिकार गरिब विपन्नले उपयोग गर्न नसकेको बताउनु भयो । आफ्नो क्षेत्रको विकास र समृद्धिको लागि योजना बनाएर सम्वन्धीत क्षेत्रमा नगएसम्म राज्यले सुन्ने अवस्था नरहेको बताउनु भयो । आफ्नो मन्त्रालयले गरिब विपन्नको जीवनस्तर उकास्ने प्रकारका कार्यक्रम ल्याउन लागेको जानकारी दिनु भयो ।
कार्यक्रममा ३ नं. प्रदेशका सांसद ओमबहादुर घलान, चेपाङ संघका उपाध्यक्ष सुनिमाया चेपाङलगायतले अल्पसख्यक चेपाङ भूमिहिन भएर बस्नु परेको भन्दै यसमा राज्य जिम्मेवार हुनु पर्ने बताउनु भयो । धादिङ, मकवानपुर र चितवनबाट भेला हुनु भएका प्रतिनिधिहरुले आफ्नो क्षेत्रमा भएका समस्या, राज्यसंग माग, गर्नु पर्ने काम लगायतको विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । अधिवेशनले छलफलपछि नयाँ नेतृत्व चयन गर्नेछ ।