नेपाली भूमी कब्जा गरेपछि चीनविरुद्ध ‘रअ’को प्रदर्शन

बुटवल । नेपालका लिपुलेक र कालापानीलाई भारतले नयाँ नक्सामा जारी गरेपछि देशभरि भारतविरुद्ध प्रदर्शन भइरहेका बेला आफूविरुद्धको आन्दोलनलाई डाइभर्ट गर्न भारतको गुप्तचर संस्था ‘रअ’ले विभिन्न हत्कण्डा अपनाउन थालेको छ ।

भारतविरुद्ध बढ्दै गएको विरोध प्रदर्शनलाई केही मत्थर बनाउन सकिन्छ कि भनेर भारतले लाखौँ रकम खर्चेको बुझिएको छ । ‘रअ’ले केही रकम खर्च गरेर तराई मूलका ३०–४० जनाको समूह बनाएर चीनविरुद्ध प्रदर्शन गर्न लगाएको चिनियाँ पक्षको बुझाई छ ।

चीनविरुद्धको प्रदर्शनमा पहाडे मूलका व्यक्तिहरू कहिल्यै सहभागी हुँदैनन् । यस्ता प्रदर्शन गर्न ‘रअ’सँग पैसा खाने एउटा गिरोह छ । उक्त गिरोहले बेलाबेला ‘रअ’सँग पैसा खाएर भारतविरोधी प्रदर्शनलाई कमजोर बनाउने गर्दै आएको छ ।

चीनले पनि नेपाली भूमि मिचेको भनेर भारत विरोधी प्रदर्शनलाई मत्थर बनाउन ‘रअ’ले आफूलाई सक्रिय बनाएको हो । त्यसका लागि काठमाडौंको लैनचौरस्थित भारतीय राजदूतावासभित्रैबाट ठूलो मात्रामा पैसा खर्च भएको स्रोतले जनाएको छ । भारतले नेपालको लिपुलेक लगायत ६० हजार हेक्टरभन्दा बढी भू–भाग अतिक्रमण गरिरहेको र हालसालै लिपुलेकलाई आफ्नो नक्सामा राखेपछि भारतीय विस्तारवादविरुद्ध देशव्यापी विरोध बढीरहेका बेला भैरहवामा प्रायोजित प्रदर्शन भएको थियो ।

चिनियाँ विस्तारवाद मुर्दावाद लगायतका प्लेकार्ड बोकेका केही भाडाका भारतीय मान्छेहरूको प्रयोग गरीे विरोध प्रदर्शन भएको थियो । भैरहवाका स्थानीय युवाहरूले चिनियाँ राष्ट्रपति सी चीन फिङको पुत्ला दहन गरेका थिए । चिनियाँ राष्ट्रपतिको पुत्ला जलाउन ‘रअ’ ले ठूलो आर्थिक चलखेल गरेको बुझिएको छ ।

केही दिन अगाडि काठमाडौंको ठमेल, सर्लाहीलगायतका स्थानमा पनि चीनविरुद्ध प्रदर्शन भएका थिए । ती प्रदर्शनहरूमा पनि ‘रअ’ले चलखेल गरेको स्रोतको दावी छ । चीनविरुद्ध हुने प्रदर्शनमा सहभागी हुनेहरूले जहिले पनि मुखमा मास्क लगाएर नचिनिने भएर सहभागी हुने गरेका छन् ।

यसैबीच, नेपालका लागि पूर्वराजदूत श्यामशरण काठमाडौंमा गोप्य रुपमा आएर कम्युनिस्ट नेताहरूसँग सुटुक्क भेटेका छन् । उनले नेपाल–भारतबीचको सम्बन्ध सुधार गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विभिन्न प्रस्तावहरू ल्याएर आएको चर्चा छ । उता, नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीको कार्यकाल समाप्त हुँदै छ । उनीले अबको दुई महिनाभित्र अनिवार्य अवकास पाउँदै छन् । नेपाल र भारतबीचको सम्बन्ध सुधार गर्ने भनेर आएका पुरीले खासै जादू चलाउन सकेनन् ।(यूनाइटेड पोस्ट साप्ताहिकबाट)