मस्तिष्क विकासको विकार (अटिजम)को समस्या दिनानुदिन बढ्दै

चितवन, ०३ मंसिर। विश्वमा मस्तिष्क विकासको विकार (अटिजम) को समस्या दिनानुदिन बढ्दै गइरहेको छ। विश्वस्वास्थ्य संगठन (डब्लुएचओ) को पछिल्लो तथ्यांकअनुसार विश्वको कूल जनसंख्याको एकदेखि दुई प्रतिशत बालबालिकामा अटिजमको समस्या देखिएको छ। विश्वमा जन्मिने ५९ बालबालिकामध्ये एकजनामा यो समस्या देखिने गरेको तथ्यांकले देखाएको छ। यो समस्या बालिकाको तुलनामा बालकहरूमा पाँच गुना बढी देखिने गरेको डब्लुएचओले जनाएको छ।

चिकित्सकहरूका अनुसार अटिजम कुनै रोग होइन, केवल बौद्धिक विकासात्मक अपाङ्गता हो। आमबुझाइ अनुसार अटिजम भएका व्यक्तिलाई बौद्धिक अपाङ्गता भएको भन्ने गरिन्छ। तर, चिकित्सकहरू यसलाई स्वीकार्न तयार छैनन्। अटिजम बौद्धिक अपाङ्गता नभई दस प्रकारका अपाङ्गतामध्ये एक खालको अपाङ्गता हो भनेर आमनागरिकलाई बुझाउने उद्देश्यले चितवनको भरतपुरमा चिकित्सक तथा जनप्रतिनिधीलाई जानकारी गराउने उद्देश्यले दुईदिने ‘मेडिकल वर्कसप’ आयोजना गरिएको छ।

नेपालको हकमा नौलो विषय भएकोले पनि यसबारे आमनागरिकले बुझ्नै पर्ने हुँदा सबैभन्दा पहिले चिकित्सक र जनप्रतिनिधीलाई बुझाउने प्रयास गरिएको आयोजक संस्था अटिजम केयर नेपाल सोसाइटीकी केन्द्रीय अध्यक्ष डा सुनिता मलेकु अमात्यले बताइन्।

अटिजम केयर नेपाल सोसाइटी चितवनको संयोजनमा मंगलबार साँझ भएको कार्यक्रममा चितवनका मेडिकल कलेज, सरकारी अस्पताल, सामुदायिक अस्पताल तथा निजी अस्पतालका बालरोग विशेषज्ञ तथा मनोचिकित्सक, नर्सिङ, नाक, कान घाँटी रोग विषेशज्ञ, थेरापिष्टलगायत गरी करिब ८० जना चिकित्सक तथा स्वास्थ्यकर्मी कार्यक्रममा सहभागी गराइएको थियो। ‘सबैभन्दा पहिले चिकित्सकसँग ठोक्किन आउने विषय भएकोले अभिभावकलाई बुझाउन सजिलो होस् भनेर चिकित्सकसँग अन्तरक्रिया गरिएको हो,’ उनले भनिन्।

दोस्रो दिन बुधबार भने जनप्रतिनिधिसँग अटिजमबारे जानकारी गराउने उद्देश्यले अन्तरक्रिया गर्न लागेको उनले बताइन्। ‘सामान्यतया बच्चा जन्मिएपछि करिब तीनवर्षभित्रमा अटिजम भएको छ भने प्रष्टै देखिन्छ,’ उनले भनिन्, ‘यो समस्या एकपटक देखिइसकेपछि जीवनभर नै रहिरहन्छ। त्यसैले यस्तो अवस्थामा अभिभावक अथवा परिवारका अन्य सदस्यले ध्यान पुर्‍याउनु आवश्यक छ।’

अटिजमका लक्षण व्यक्तिअनुसार फरकफरक प्रकृतिको हुने उनको भनाइ छ। ‘एउटै उमेर समूहका बालबालिकामा पनि स्वभाव भने फरकफरक देखिन सक्छ,’ उनले थपिन्, ‘कृयाकलाप पनि कसैको उमेरभन्दा ठूलो मान्छेको जस्तो र कसैको उमेरभन्दा धेरै सानो बच्चाको जस्तो गर्छ।’

त्यसैले अटिजमबारे स्वास्थ्यकर्मी, जनप्रतिनिधि, शिक्षक, अभिभावकलगायतका सरोकारवाला निकाय तथा व्यक्तिहरूले समयमै जानकारी लिइराख्नुपर्ने सोसाइटीले जनाएको छ। ‘अटिजम भएका व्यक्तिले पनि सामान्य नागरिकसरह बाँच्न पाउने अधिकारबाट बञ्चित नहोस् भन्नका लागि सबैभन्दा पहिले त हामी जानकार हुनुपर्‍यो नि,’ अटिजम केयर नेपाल सोसाइटी चितवनकी कार्यसमिति सदस्य प्रमिला न्यौपानेले भनिन्, ‘त्यसको लागि अभिभावकलगायतका सरोकारवाला सबै सचेत बन्न सक्नुपर्छ।’

उनका अनुसार अटिजम भएका व्यक्तिले अरूलाई वास्तै गर्दैन, ऊ आफ्नै धुनमा एकोहोरिरहन्छ। आफ्नो लागि के सही या के गलत भन्ने विषयमा सोच्नै सक्दैन। उमेर ठूलो भइसक्दासम्म पनि तीन÷चारवर्षको बालबालिकाको जस्तो व्यवहार देखाइरहने हुँदा अभिभावक वा परिवारका सदस्य यस विषयमा बढी चनाखो हुनुपर्ने उनको भनाइ छ। ‘किनकि अहिलेसम्म अटिजमको कुनै कारण नै पत्ता लगाउन सकेको छैन,’ उनी भन्छिन्, त्यसैले यसको उपचार यही हो भनेर भन्न सकिने अवस्था छैन।’

तर, सामान्यतयाः अकुपेशनल थेरापी तथा संवेदनी थेरापी, सञ्चारको थेरापी, व्यावहारिक सीप थेरापी, सामाजिक सीप थेरापी, समाहित शिक्षा, विशेष शिक्षा, स्वाबलम्बी हुन सीप सिकाउने पद्धति, सञ्चार गर्न सिकाउने पद्धति आदिबाट सामान्य अवस्थाका मानिससरहको व्यवहार गर्न सिकाउन सकिने उनको भनाइ छ।

नेपालमा अध्ययन नै भएको छैन

विश्वस्वास्थ्य संगठनले तथ्यांक निकाले पनि नेपालमा भने यसबारे अहिलेसम्म कुनै अध्ययन नै भएको छैन। जसकारण अटिजम भएका बालबालिकाको संख्या र अवस्थाबारे हालसम्म सरकार नै अनभिज्ञ छ। विश्वस्वास्थ्य संगठनकै तथ्यांकलाई आधार मान्दा नेपालमा करिब तीन लाख बालबालिकामा अटिजम भएको अनुमान मात्रै लगाउन सकिने अटिजम केयर नेपाल सोसाइटीले जनाएको छ।

सबैभन्दा पहिले अटिजमबारे सरकार नै पूर्ण जानकार हुनुपर्ने चिकित्सकहरू बताउँछन्। ‘अब तीनै तहको सरकारले अटिजम भएका बालबालिकाको पक्षमा नीति निर्माण गरी कार्यान्वयन गर्नुपर्छ,’ डा अमात्यले भनिन्, ‘ताकि अटिजम भएका व्यक्तिले पनि आफ्नो नैसर्गिक अधिकार प्राप्त गर्न सकोस्।’

दीर्घकालीन सुझाव

नेपालमा अटिजमसम्बन्धी कुनै पनि अध्ययन हुन नसकेकोले अबका दिनमा स्वास्थ्यकर्मीहरूलाई प्राविधिक तालिम कार्यक्रम आयोजना गरेर देशव्यापी बनाउन अटिजम केयर नेपाल सोसाइटीले सुझाव दिएको छ। अटिजमको पहिचान र निदानको लागि दक्ष जनशक्तिको विकास गर्न, अटिजममैत्री वातावरण निर्माण गर्न, अटिजम सम्बन्धी अनुसन्धान हुनुपर्नेलगायतका सुझाव सोसाइटीले दिएको छ।