यो कस्तो शुसासन : सडक अलपत्र पार्ने ठेकेदारलाई चौथोपल्ट म्याद थप

भ्रष्ट्र्चारको नमुना : सुरुको सम्झौतामा २७ करोड ९० लाखमा काम सक्ने भनिए पनि हाल अनुमानित लागत बढाएर ३१ करोड ७४ लाख कायम गरिएको छ

लीला श्रेष्ठ/ विमल खतिवडा/ प्रशान्त माली/काठमाडौँ /सडक विभागले कमलविनायक–नगरकोट सडक विस्तार कार्य अलपत्र पारेको ठेकेदार कम्पनीलाई कुल लागतको १० प्रतिशत हर्जना तिराएर चौथोपटक म्याद थप गरेको छ । ठेकेदार कम्पनी शैलुङरएआईपीएल ९आरामाली इन्फ्रा पावर लिमिटेड० जेभी हर्जना तिर्न तयार भएपछि आगामी वैशाख ७ मा काम सक्ने गरी अन्तिमपटक म्याद थपिएको भक्तपुर–नगरकोट–सिपाघाट सडक आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिए ।

तेस्रोपटक थपिएको म्याद सकिएको करिब डेढ वर्षपछि विभागले गत असोज १२ मा चौथोपल्ट म्याद थपेको हो । यसअघिको म्याद गत वर्ष जेठ ३० मै सकिएको थियो । ‘अब म्यादभित्र काम पूरा नगरे ठेक्का रद्द हुन्छ,’ आयोजना प्रमुख प्रजापतिले भने । सडक विभागका महानिर्देशक केशवकुमार शर्माले यसमा एक्जिम बैंक इन्डियाको ऋण सहयोग रहेकाले ठेक्का तोड्नुपर्दा उसको स्वीकृति लिनुपर्ने बताए । शैलुङरएआईपीएल जेभीले ०७३ कात्तिक ४ मा काम सक्ने गरी ०७१ जेठ २२ मा सडक विस्तारको सम्झौता गरेका थिए । पटकपटक म्याद थपिए पनि करिब ६५ प्रतिशतमात्रै काम सकिएको छ । १६ किलोमिटरमध्ये ३ किलोमिटरमा कालोपत्र गरिएको छ । काम ढिला गरिँदा लागत झन्डै ४ करोड रुपैयाँ बढेको छ । सुरुको सम्झौतामा २७ करोड ९० लाखमा काम सक्ने भनिए पनि हाल अनुमानित लागत बढाएर ३१ करोड ७४ लाख कायम गरिएको छ । ठेकेदारले १७ करोड ३१ लाख रुपैयाँ अर्थात् ५४ प्रतिशत भुक्तानी लगिसकेका छन् ।

सडक विस्तार कार्य अलपत्र पारिएपछि नगरकोटका बासिन्दाले शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालिका अध्यक्ष शारदाप्रसाद अधिकारीको फोटो मंगलबार पोल र सार्वजनिक तथा निजी सवारीसाधनमा टाँसेर विरोध गरेका थिए । लगत्तै ठेकेदार कम्पनीले विस्तारको काम अघि बढाएको छ । तीन मिटरको सडक विस्तार गरेर सात मिटर बनाउन लागिएको हो ।

स्थानीय बासिन्दाले राजकुमार लामिछानेको संयोजकत्वमा नगरकोट सडकपीडित संघर्ष समिति गठन गरेर आन्दोलन गरिरहेका छन् । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले गत साउनमा अनुगमन गरी तत्काल काम गर्न निर्देशन दिएको थियो ।

ठेकेदारसँग स्पष्टीकरण माग
पटकपटक म्याद थप गर्दा पनि काममा प्रगति नदेखिएपछि काठमाडौं, कपन क्षेत्रमा सडक निर्माणको जिम्मा लिएका निर्माण व्यवसायीलाई स्पष्टीकरण पेस गर्न सडक विभागले सूचना निकालेको छ । विभागका महानिर्देशक केशवकुमार शर्माले ठेक्का किन नतोड्ने भनेर स्पष्टीकरण पेस गर्न सूचना निकालिएको जानकारी दिए । ‘चित्तबुझ्दो जवाफ नआए नियमअनुसार कारबाही सुरु गर्छौं,’ उनले भने ।

विभागका अनुसार कपन क्षेत्रमा साना–ठूला गरी १७ ठाउँमा ठेक्का लगाइएको छ । त्यसमध्ये तीन किलोमिटरको साततले–बालुवाखानी–साप्रेढुंगा–मानबहादुर मार्ग, १।३ किलोमिटरको भ्याली पब्लिक–चुनिखेल र १/२ किलोमिटरको आकाशेधारा–राममन्दिर सडक निर्माणको ठेक्का शैलुङ कन्स्ट्रक्सनले लिएको छ । बढी समस्या अधिकारीले ठेक्का लिएकै सडकमा रहेको स्थानीय बताउँछन् ।

शर्माका अनुसार व्यवसायीले थप तीन साताको प्रगति हेरिदिन माग गरेका छन् । शर्माले भने, ‘मागेको समयमा भनेजस्तो प्रगति देखिए फागुनसम्मका लागि म्याद थप्न सकिन्छ, नभए ठेक्का तोडिन्छ ।’ व्यवसायीले पछिल्लो समय वर्षात् र चाडबाडले गर्दा काममा ढिलाइ भएको तर्क गर्दै आएका छन् ।

टेरेनन् सरकारको निर्देशन
ललितपुर । ठेकेदारले मन्त्रीस्तरीय निर्णय अटेर गर्दा ललितपुरका सडक अस्तव्यस्त बनेका छन् । यातायातमन्त्री रघुवीर महासेठको अध्यक्षतामा बसेको बैठकले चापागाउँ सडक विस्तार नगरीकन अहिलेकै अवस्थामा कालोपत्र गर्ने निर्णय गरेको थियो । कातिक १९ मा भएको मन्त्रीस्तरीय निर्णयको जानकारी २० गते नै ठेकेदारलाई गराएको सडक विभागले जनाएको छ । ठेकेदार कम्पनी दिवा र शैलुङ कन्स्ट्रक्सनले मन्त्रीस्तरीय निर्णयको बेवास्ता गरेका हुन् ।

ठेकेदार कम्पनीले मन्त्रीस्तरीय निर्णय नभएको भन्दै लामो समयदेखि काम ठप्प पार्दै आएका थिए । निर्णय भएको सात दिन बितिसक्दा पनि ठेकेदारले कालोपत्र गर्न चासो दिएका छैनन् । ढोलाहिटी–ठेचो ३।२ किमि सडक कात्तिकमा सकिने गरी शैलुङ कन्स्ट्रक्सनले ०७३ मा २३ करोड ३१ लाख ४६ हजार रुपैयाँमा ठेक्का पाएको थियो । ठेकेदारले सरकारसँग २ करोड ८३ लाख १८ हजार रुपैयाँ लिइसकेका छन् ।

शैलुङका सञ्चालक शारदाप्रसाद अधिकारी नेकपाका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी हुन् । उनी खुमलटारमा बस्छन् । सातदोबाटो–खुमलटार कालोपत्र भइसकेको छ । त्यहाँदेखि उता ठेचोसम्म सडकको खाल्डाखुल्डी र धूलोका कारण सुनाकोठी र ढोलाहिटीवासी मर्काका छन् । ठेचो–चापागाउँ ४ किमि सडक कन्टेक कम्पनीले २६ करोड ७१ लाख ९३ हजारमा ठेक्का पाएको थियो । यहाँ भने कालोपत्र गर्न ग्राभेल बिछ्याउने र लेबलिङ मिलाउने काम भइरहेको छ । ढोलाहिटी–लेले सडकमा विभिन्न मितिमा चारवटा ठेक्का सम्झौता भएको थियो । चापागाउँदेखि २।७ किमि सडक कालोपत्र गर्ने ठेक्का पाएको पप्पु–महालक्ष्मी–वर्ल्डवाइड जेभीले पनि काम सुरु गरेको छैन ।

ठेकेदार कम्पनीले ३७ करोड ५२ लाख ७६ हजारमा ठेक्का पाएका थिए । चापागाउँ–लेले सरस्वतीकुण्डसम्म ३।११ किमि सडकको ठेक्का पनि पप्पु–महालक्ष्मी–वर्ल्डवाइड जेभीको हो । अहिले उक्त सडक लथालिंग भएका कारण लेले–टीकाभैरव हुँदै दक्षिणी भेगका तीनवटा गाउँपालिका र कान्ति लोकपथ हुँदै हेटौंडा पुग्ने सर्वसाधारण मर्कामा छन् । पप्पुले सरकारसँग ५ करोड ५२ लाख ९७ हजार लिइसकेको छ । सडक विभागका महानिर्देशक केशव शर्माले उपलब्ध सडकमा कालोपत्र गर्न सम्बन्धित ठेकेदारलाई निर्देशन दिइसकेको बताए ।कान्तिपुरबाट