न्यु मिडियालाई नियन्त्रण नगरे समस्या बढने ।

चितवन/पछिल्लो समयमा फस्टाएको सामाजिक सञ्जाल, फेसबुक, युटुब र अनलाइन मिडियालाई बेलैमा नियन्त्रण नगरे समाजमा नकारात्मकता बढने भएकाले नियन्त्रण आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् ।

अदव मिडिया नेटवर्क प्रालिले ‘पत्रकारिता तथा अनलाइन प्रोत्साहन सम्बन्धमा’ आज भरतपुरमा गरेको छलफल कार्यक्रममा चितवनका पत्रकारहरुले यस्तो धारण राखेका हुन् । बरिष्ठ पत्रकारहरुले अनलाईन मिडीयाहरुलाई प्रोत्साहन र नियन्त्रण उकैसाथ गर्नुपर्ने औंलाएका छन् । कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरीले अखवारी पत्रकारिताले चितवनमा विभिन्न चरण पार गरे पनि अनलाइन पत्रकारिता भने पहिलो चरणमा नै रहेकोले निकै समस्या भएपनि अनलाईन लगाएतका न्यु मिडीयालाई नियमन गर्दै यस्को प्रोत्साहन गर्नुपर्ने बताए । उनले भने, ‘युट्युबलाई पनि बैधानिक बाटोमा ल्याएर नियमन गर्दै जानुपर्छ ।’ उनले जेजस्ता विषयवस्तु मिडियाले प्रसारण गरेता पनि नागरिकको जनविश्वास प्राप्त गर्न सक्नु नै मिडियाको मुख्य आर्जन भएको बताए ।

कार्यक्रममा पत्रकार महासंघकी केन्द्रीय सदस्य सिर्जना अर्यालले अनलाइनहरुको दर्ता गर्नलाई काठमाडौँ नै जानुपर्ने बाध्यता हट्नुपर्ने विचार राखिन् । उनले भनिन्, ‘पत्रकार महासंघले युट्युब तथा अनलाइनहरुको नियमनको लागि विशेष प्राथमिकता दिएको छ । दक्षिण एसियाका अन्य देशहरुको तुलनामा नेपालको पत्रकार महासंघले गरेका कार्यहरु उदाहरणीय रहेको जानकारी दिईन् । पत्रकार महासंघ चितवनका पूर्वअध्यक्ष हरिप्रसाद पोखरेलले नेपालमा एक हजार ५०० वटा अनलाइनहरु प्रेस काउन्सिलमा दर्ता भइसकेकोले पत्रकारहरुको क्षमता अभिवृद्धितर्फ ध्यान दिनुपर्ने विचार राखे ।

कार्यक्रममा पत्रकार महासंघ चितवनका उपाध्यक्ष नारायण अधिकारी,अग्रज पत्रकार तिलक रिमाल, बरिष्ठ पत्रकार रामबाबु सुवेदी,पत्रकार तथा सप्तगण्डकी बहुमुखी क्याम्पसको आमसञ्चार विषयमा प्राध्यापक मधुसूदन दवाडी, पुराना पत्रकार सुरेश सुबेदीलगाएतले युट्युबलगाएतका न्यु मिडीयालाई नियमन गर्र्नुपर्नेमा जोड दिए ।

अदव मिडिया नेटवर्कका अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार तथा प्राध्यापक दिपेन्द्र अधिकारीले सहजीकरण गरेका थिए । कार्यक्रममा चितवनका पुराना र नयाँ पुस्ताका गरेर झण्डै ३० जना पत्रकारहरुको सहभागिता थियो ।