इच्छाकामना गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

१४ जना जेष्ठ नागरिकलाई न्यानो कपडा र हर्लिक्स वितरण

चितवन । चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाँउपालिकाले नियमित सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाबाट आव २०७५÷०७६ र ०७६÷०७७ को पहिलो चौमासिकमा प्रवाह गरिएको सेवा सम्बन्धमा गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।

इच्छाकामना गाउँपालिका–७ सिमलढापमा गत् शनिबार सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकहरुले गाउँपालिकाको विकाश निर्माण, कृषि, पशु, स्वास्थ्य, शिक्षा लगायत विविध विषयहरुमा केन्द्रित रहेर प्रश्न, जिज्ञासा र गुनासाहरु राखेका थिए । नागरिकका प्रश्न, जिज्ञासा र गुनासाहरुको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ, प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्साल, उपाध्यक्ष कृति कुमार श्रेष्ठ, वडाध्यक्षहरु गोवद्र्धन अधिकारी, बम बहादुर राना तथा गाउँपालिकाका विभागीय प्रमुखहरुले जवाफ दिएका थिए ।

गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोन्धन गर्दै गाउँगाउँमा सिंहदरवार भन्ने नारालाई आत्मसाथ गर्दै गाउँपलिकाको सार्वजनिक सुनुवाई वडावडामा गर्ने अभियानका साथ ७ नं. वडामा आयोजना गरिएको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले बताएकी थिईन् । स्थानीय तहमा जनप्रतिनिधी आएपछि इच्छाकामना गाउँपालिकाले यो दोस्रो पटक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।

यस्तै शनिबार नै गाउँपालिकाले वडा नं. ७ मा रहेका ९० वर्ष कटेका ज्येष्ठ नागरिकलाई न्यानो कपडा र हर्लिक्स वितरण गरेको छ । गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ, प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्साल, उपाध्यक्ष कृति कुमार श्रेष्ठ लगायत जनप्रतिनिधीहरुको रोहवरमा १४ जना ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा र हर्लिक्स वितरण गरेको हो ।