एनजीओको कार्यक्रमा सांसदले गरे देशकै बेइज्जत : ट्याक्सी भाडा पाइएन, अमेरिका घुमाइदिनु पर्‍यो

सांसदलाई जवाफ : झोलाभरी पैसाले मात्र काम हुँदैन

ललितपुर । मंगलबार कुपण्डोलस्थित एक होटलमा भएको कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रिय सभाका गरी झन्डै ५० सांसदहरुको जमघट थियो । सो कार्यक्रम संघीय संसद सचिवालय वा सरकारी निकायले गरेको नभइ एक अमेरिकी गैरसरकारी संस्था आइआरआई अर्थात इन्टरनेश्नल रिपब्लिकन इन्सिच्युट्सले गरेको थियो ।
सो कार्यक्रममा अमेरिकाको प्रतिनिधि सभा भर्जिनियाका पूर्व सांसद बब गुडलाटे, ३६ बर्षसम्म अमेरिकाको संसद सचिवालयमा काम गरेका पूर्वकर्मचारी ब्राड स्मिथ, काँग्रेसी अनुसन्धान सेवा, परराष्ट्र मामिला, रक्षा तथा व्यापार महाशाखा र परराष्ट्र नीति पूर्व विशेषज्ञ सुसन एप्सिटन, प्रतिनिधि स्कट नेमेथ लगायतको टोलीले अमेरिकी संसदको अनुभव सुनाएका थिए ।
उनीहरुले संसदको स्वरुप, काम गर्ने पद्धति, संसदले गर्ने अनुसन्धान प्रणालीबारे अनुभव र प्रस्तुतिकरण राखेपछि नेपालका सांसदहरुलाई त्यसबारे थप जिज्ञासा राख्न आग्रह गरेका थिए ।
सांसद राधेश्याम अधिकारीले अमेरिकी संसदमा गरिने अनुसन्धान प्रक्रियाको बारेमा जिज्ञासा राखेका थिए भने अन्य सांसदहरुले अमेरिकी संसदीय अभ्यास प्रक्रिया भन्दा पनि आफ्नै गुनासाका पोका फुकाए ।
अमेरिका देख्न पाएको छैन देखि ट्याक्सी भाडा नपाएको सम्मका गुनासा
कार्यक्रममा सहभागी धेरैजसो सांसदहरुको भनाइ थियो, ‘हामी गरीव छौँ, हामीसँग आफ्नै जिल्ला र निर्वाचन क्षेत्रमा जान समेत पैसा हुँदैन । हामीलाई त्यसका लागि सरकारले पैसा पनि दिँदैन । कुनै कार्यक्रमा जानुप¥यो भने ट्याक्सी खर्च पनि दिँदैन । यस्तो अवस्थामा हामीले जनताका काम कसरी काम गर्ने रु’
त्यस्तै सत्ता पक्षका सांसदहरुले त संसदमा सत्तापक्षको सांसद भएका कारण संसदमा प्रश्न सोध्न समेत नपाएको गुनासो पोखे ।
नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले अनुभव सुनाउने क्रममा भनिन् ‘तपाईँहरुसँग विज्ञ कर्मचारी हुन्छन् भन्नुभयो, हाम्रोमा त्यस्ता कर्मचारी पनि हुँदैनन् र काम गर्न खर्चको पनि व्यवस्था हुँदैन । हामी जिल्ला जाननै सक्दैनौँ, जिल्ला जानको लागि खर्च नै हुँदैन । बरु तपाईँहरुले हाम्रा माथिल्लो निकायका मानिसहरुलाई भेटेर यो खबर सुनाइदिनुपर्यो ।’

त्यस्तै सत्तारुढ दलबाट राष्ट्रियसभा सांसद माया ज्ञवालीले आफ्नो अनुभव सुनाउँदै भनिन्–‘हामीले बोलेको कसैले सुन्दा पनि सुन्दैन, मैले त अमेरिका पनि देख्न पाएकी छैन । तपाईँहरुले सहयोग गर्नुभयो भने देख्ने मौका पाउनेछु । तालिम दिनुभयो आभारी छौ’ उनले थपिन्, ‘मैले त रोजेको संसदीय समितिमा पनि बस्न पाएकी छैन । धेरै ठूलो समस्या छ ।’
राजपा सांसद अमृता अग्रहरीले ठूला दलले देश र जनताको समस्या नहेरी मनपरी ढंगले काम गरिहेको भन्दै अमेरिकामा पनि त्यस्तो हुन्छ कि हुँदैन भनेर प्रश्न गरिन् । उनले संविधान र कानून कार्यान्वयन नगर्दा जनता निराश अवस्थामा रहेको बताउँदै भनिन्–‘देशको संविधान एकातिर, देशको कानून एकातिर कार्यान्वयन पक्ष एकातिर भइरहेको छ, तपाईँको देशमा यस्तो छ भने जान्न चाहन्छौँ, यदी छैन भने त्यति टाढाबाट आएर हामीलाई एक्सरसाइज गरिरहनु भएको छ, भने जो यो देशको पावर चलाइरहेको छ उनीहरुलाई सल्लाह दिनुस् ।’
कार्यक्रममा पूर्वरक्षामन्त्री एवम् नेपाली काँग्रेसका सांसद भीमसेनदास प्रधानले सो एनजीओ आइआरआईले संसदमा अनुसन्धानको कामका लागि सहयोग गर्छ कि गर्दैन भनेर जिज्ञासा राखेका थिए । उनको जवाफका संस्थाका प्रतिनिधिले काठमाडौं विश्वविद्यायसँग मिलेर यससम्बन्धी काम गर्न लागेको जानकारी दिए ।

सांसदलाई जवाफ : झोलाभरी पैसाले मात्र काम हुँदैन

सांसदहरुको कुरा सुनेपछि ब्राड स्मिथले नेपाली सांसदले आफूलाई समस्या परेका कुरा आफ्नो माथिल्लो निकायमा आफै भन्न सुझाव दिए ।
उनले भने, ‘आफैले माग्नुभएन भने केही पाउनुहुन्न, त्यसैले आफै माग्नुपर्छ । श्रोतसाधन भन्दापनि इच्छाशक्तिले काम गर्न सक्नुहुन्छ । झोलाभरी पैसा भएपनि इच्छा भएन भने केही हुँदैन । त्यसैले संसदले गर्नुपर्ने मख्य काम निगरानीलाई जोड दिनुपर्छ ।’ उनले सांसदको महत्त्वपूर्ण काम भनेको नै निगरानी भएकाले त्यसतर्फ लाग्न सुझाव दिए ।
नेकपा सांसद धर्मशिला चापागाई भने सांसदहरुले अभिव्यक्त गरेको कुराले आफ्नै बेइज्जत भएको भन्दै चिन्ता व्यक्त गरिरहेकी थिइन् । उनले कार्यक्रममा उपस्थित केही पत्रकारहरुलाई यो विषय समाचारमा गयो भने हाम्रो आफ्नै वेइज्जत हुन्छ भन्दै समाचार नलेखिदिन आग्रह गरिरहेकी थिइन् ।
कार्यक्रममा सहभागी भएका ३ जना सांसद भने कार्यक्रम सुरु भएको केही समयपछि बाहिरिएका थिए । राष्ट्रिय सभाका सांसद राधेश्याम अधिकारी, रामनारायण विडारी र खगेन्द्र पुरी समितिको बैठकमा भाग लिन गएका थिए । सांसद रामनारायण विडारीले भने–‘संसदको कार्यक्रम छोडेर एनजीओको कार्यक्रममा सहभागी हुने चलन छैन । समितिमा इन्जिनियरिङ काउन्सिल विधेयकमाथि छलफल थियो, त्यसमा सहभागी हुन निस्कियौँ ।’

के जथाभावी बोल्ने सांसदलाई कारवाही हुन्छ ?

अमेरिकी गैरसरकारी संस्थाले गरेको अनुभव आदानप्रदान गर्ने अन्तर्क्रिया कार्यक्रममा सांसदहरुले आफ्नो सरकारले काम गर्न पैसा नदिएको, कानुन र संविधान कार्यान्वयन नगरेको, आफूले अमेरिका देख्न नपाएको जस्ता गुनासो पोख्न मिल्छ रु सांसदहरुले कस्तो कार्यक्रममा कसरी सहभागी हुने भन्ने बारेमा हेक्का नराख्दा यस्ता समस्या आउने गरेको राष्ट्रिय सभा अन्र्तगतको एक समितिका सभापति समेत रहेको सांसद रामनारायण विडारी बताउँछन् ।
सांसद बिडारीले आफू पनि सो कार्यक्रममा सहभागी भएपनि आफूले एक शब्द नबोली फर्किएको प्रतिक्रिया दिए । उनले भने, ‘मलाई पनि त्यो अन्तर्क्रिया कार्यक्रममा बोलाइएको थियो । आइआरआई भन्ने अमेरिकन एनजीओ हो । मैले त्यहाँ एक शब्द नबोली फर्किएँ । उनीहरु एउटा मिसनमा आएका हुन् । त्यो प्रश्न सोध्ने तर आफ्नो गुनासो सुनाउने ठाँउ हैन ।’
सांसदहरुले कहाँ के बोल्ने भन्ने छुट्टै आचारसंसहता नभएपनि राजनीतिक पार्टीको संसदीय दलको छुट्टाछुट्टै आचारसंहिता भएकाले सो अनुसार कारवाही हुने व्यवस्था छ । अझ विदेशी समक्ष संविधान र व्यवस्थाको विरुद्ध बोल्नु राज्य विरोधी काम हुन्छ ।
सांसद विडारीले सांसदहरुले विदेशी संस्थाको कार्यक्रममा आफ्ना आन्तरिक समस्या देखाउनुभन्दा पनि उनीहरुको बारेमा धेरै सोध्नुपर्ने बताए ।
उनले भने, ‘सांसदहरुले एनजीओको कार्यक्रममा गएर म यस्तो काम गर्छु, यस्तो कानून बनाउँछु भन्नु कानुन विपरित हुन्छ । अझ विदेशीको कार्यक्रममा गएर त भन्नै हुँदैन । बरु तिमीहरुकोमा संसदीय सुनुवाइको व्यवस्था कस्तो छ, महाअभियोगको व्यवस्था कस्तो छ भनेर सोध्नुपथ्र्यो ।’
त्यस्ता कार्यक्रममा गुनासो सुनाएर आफ्नै बेइज्जत गर्ने भन्दापनि सैद्धान्तिक कुरा गर्नुपर्ने उनको तर्क छ । ५० बढी सांसदहरु भएको कार्यक्रममा उनीहरुलाई सहजीकरण गर्न संसद सचिवालयका कुनै कर्मचारी नभएको भन्दै केही सांसद गुनासो समेत गर्दै थिए । कार्यक्रम आयोजक प्रतिनिधिलाई संघीय संसद सचिवालयले सोमबार रात्रीभोजको आयोजना समेत गरेको थियो । रातोपार्टीबाट