‘महाकालीदेखि पूर्व नेपाल, पश्चिम भारत यहि यथार्थ हो  :प्रचण्ड 

नेपाली भूमि मिचेर भारतले बनाएको नक्सा कुनै हालतमा मान्य हुदैन ।

चितवन, कार्तिक २६/पूर्व प्रधानमन्त्री एवंम नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली भूमि मिचेर भारतले बनाएको नक्सा कुनै हालतमा पनि मान्य नहुने बताएका छन् ।
नेकपा भरतपुर महानगर वडा कमिटीहरुको शपथ ग्रहण कार्यक्रममा बोल्दै प्रचण्डले महाकालीदेखिको पूर्वको सबै भूभाग सबै नेपालको भएको बताए । अध्यक्ष प्रचण्डले भने–‘महाकालीदेखी पूर्व नेपाल, पश्चिम भारत हो, यहि यथार्थ हो, अन्य कुरा मान्य छैन ।’
१८१६ को सुगौली सन्धी, त्यसपछिका चिठीपत्र र सुगौली सन्धीपछि छापिएका औपचारिक र वैधानिक नक्सा र हालसम्मका सबै प्रमाणहरुले लिम्पियाधुरालाई नै महाकाली नदीको मुहान मानेकोले सोही अनुरुप अघि बढ्नुपर्नेमा प्रचण्डको जोड थियो । प्रचण्डले अगाडी थपे –‘सुगौली सन्धीले महाकाली नदी नै सीमा भनेको छ, सोही ऐतिहासिक तर्क, तथ्य र दस्तावेजले नेपालको भूमि कति, भारतको कति हो भन्ने कुरा प्रमाणित नै छ ।’
सीमा विवादको विषयमा पहिलोपटक राष्ट्रिय एकता र सहमति भएको भन्दै प्रचण्डले गुमेको नेपाली भूमि फिर्ता गर्ने ऐतिहासिक समय आएको बताए । उनले सीमा विवादको विषय राष्ट्र र पार्टीका लागि निकै चुनौती बनेर आएको भन्दै शक्तिशाली सरकारले चुनौतीलाई पार गर्दै अघि बढ्ने बताए । उपनिर्वाचनको प्रसगंमा कुरा गर्दै अध्यक्ष प्रचण्डले यसअघि पराजित भोगेको स्थानामा हुने उपनिर्वाचनमा पार्टीका सबै उम्मेद्वारले जित हासिल गर्ने विश्वास व्यक्त गरे । उनले भने–‘पहिले नजितेको ठाउँमा अहिले जित्ने संभावना छ, त्यसका लागि हामी एकतावद्ध भएर रात दिन खट्न र्पयो ।’
कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल लगायत पार्टीका नेताहरुले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पार्टीका सबै वडा कमिटिका पदाधिकारीहरुलाई अध्यक्ष प्रचण्डले शपथ ग्रहण गराएका थिए ।