रौंतहटमा सीमा जोडिएको नेपाली चौकीमा बम बिस्फोट,एक प्रहरी घाइते

काठमाडौँ/भारतसँग सीमा जोडिएको क्षेत्रमा पर्ने रौतहटको मठिया प्रहरी चौकीमा आज दिउँसो भारतीय नम्बरको मोटरसाइकलमा आएका दुई जनाको समूहले सुतली बम प्रहार गरे।
बमको छर्रा लागेर सेन्ट्री पोस्टमा खटिएका प्रहरी जवान रन्जित यादबको काखीदेखि तिघ्रासम्म सामान्य चोट लागेको रौतहट प्रहरीका प्रवक्ता नविन कार्कीले जानकारी दिए।
बम हानेलगत्तै भारततर्फ हुँकिएका ती दुई जनालाई प्रहरीको टोलीले मोटरसाइकलबाट लखेटेको थियो। मोटरसाइकलको पछाडि बसेका चन्दनकुमारलाई दशगजा क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ। मोटरसाइकलका चालक भने सीमासँग जोडिएको भारतीय बस्तीतर्फ भागेको प्रहरीले जनाएको छ।

‘हाम्रो टोलीले लखेटेर एक जनालाई पक्राउ गरेको छ। चालक भने भाग्न सफल भएका छन्। किन विस्फोट गराए भन्ने यकिन हुन सकेको छैन’, डीएसपी कार्कीले भने। चन्दनकुमारसँग सोधपुछ गर्न बाँकी रहेको बताउँदै उनले कारणबारे स्पष्ट हुने बताए।

मठिया चौकी भारतसँग सीमा जोडिएको क्षेत्रमा पर्छ। घटनास्थलदेखि एक किलोमिटर पर दशगजा क्षेत्र पर्छ।