ओली र दाहाल निष्कर्ष : स्वच्छता र सुशासनका आधारमा सरकार र पार्टी सञ्चालन गरिने

काठमाडौं/नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल पार्टी र सरकार सञ्चालनमा स्वच्छता र सुशासन लागू गर्न सहमत भएका छन् । सरकारका मन्त्री र कर्मचारी संयन्त्रले सुशासनलाई आत्मसात् गर्न नसक्दा सरकारको कार्य प्रभावकारी बन्न सकेको छैन् । पार्टी र सरकार दुवैमा स्वच्छता र सुशासन कायम गर्दै सरकार र पार्टी दुवैको काम प्रभावकारी बनाउनुपर्ने निष्कर्ष अध्यक्षद्वयले निकालेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दुई अध्यक्षबीच भएको ‘वान टु वान’ छलफलमा नेकपाका नेतालाई चिनियाँ राष्ट्रपति सी चिनफिङले स्वच्छता र सुशासनमा ध्यान दिन दिएको सुझावलाई लागू गर्ने सहमत भएको छ ।

पार्टी र सरकार सञ्चालनमा सीका सुझाव कार्यान्वयन गर्दा मुलुक र जनताको हितमा हुने निष्कर्ष ओली र दाहालको रहेको बालुवाटार स्रोतले जनाएको छ । यस्तै, चीनका राष्ट्रपति सीको नेपाल भ्रमण उपलब्धिपुर्ण एवं भव्य रूपमा सम्पन्न भएको निष्कर्ष अध्यक्षद्वयले निकालेका छन् ।

सीको भ्रमण भव्य र उपलब्धिमूलक भएको ठहर

अध्यक्षद्वयले चीनका राष्ट्रपति सीको भ्रमण दुई देशबीच भएका सन्धि, व्यवस्थापन र सुरक्षाका दृष्टिले सफल रहेको समीक्षा गरेका छन् । चीनबाट राष्ट्रपतिस्तरमा २३ वर्षपछि भएको भ्रमण भव्य भएको निष्कर्ष उनीहरूको छ ।

सीको भ्रमणको थप समीक्षा गर्न पार्टी सचिवालय बैठक बोलाउने सहमति दुई नेताबीच भएको बालुवाटार स्रोतले जनाएको छ । नेकपा सचिवालय बैठक २ कात्तिकमा बस्ने सहमति ओली र दाहालले गरेका छन् । यस्तै, दसैं, तिहार, छठलगायतका पर्वको अवसरमा २९ असोजमा हुने चियापान कार्यक्रमको तयारीबारे समेत छलफल भएको छ ।

अध्यक्षद्वय ओली र दाहालबीच चीनका राष्ट्रपति सीको नेपाल भ्रमण समीक्षाका साथै सभामुखको उम्मेदवार, मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकताको बाँकी काम टुंगो लगाउने विषयमा छलफल भएको दाहालको सचिवालयले जनाएको छ ।

ओली र दाहालबीच भएको करिब तीन घण्टा लामो छलफलमा नेकपा नेतासमेत रहेका निवर्तमान सभामुखले राजीनामा दिएपछि सो पदको उम्मेदवारबारे छलफल गर्दै अन्तिम टुंगो सचिवालय बैठकबाट लगाउने सहमति भएको छ ।

यस्तै, तत्कालीन एमाले र माओवादीबीच पार्टी एकीकरण भएको १६ महिना बढी भएकाले ढिला नगरी एकताको बाँकी काम टुंगो लगाउने गरी अगाडि बढ्नुपर्र्नेमा दुई नेता सहमत भएका छन् ।

नेकपाले पोलिटब्युरो गठन, लेखापरीक्षण आयोग, केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग, केन्द्रीय आयोग गठनलगायतका काम अझै टुंगो लगाउन सकेको छैन ।

मन्त्रिपरिषद् पुनर्गठनमा ओली र दाहाल सहमत

सरकारको काम प्रभावकारी एवं परिणाममुखी बनाउन केही मन्त्रीलाई बिदाइ गरी नयाँ मन्त्री ल्याउने विषयमा प्रधानमन्त्री ओली र दाहाल सहमत भएका छन् । ओली र दाहालबीच भएको छलफलमा जनजीविका र जनताले अनुभुत गर्ने गरी मन्त्रीको काम नदेखिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमति जुटेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले केही मन्त्रीको कार्यसम्पादन कमजोर देखिएको भन्दै ती मन्त्रीलाई हटाउने विषयमा दाहालसँग छलफल गरेका हुन् । मन्त्रिपरिषद् पुनर्गठनको विषयमा नेकपा सचिवालय बैठकमा समेत छलफल गर्ने दुई नेताले सहमति गरेका छन् । केही मन्त्रीलाई भने मन्त्रालयको जिम्मेवारी हेरफेर मात्रै गर्ने गरी गृहकार्य अघि बढाइएको छ । केही मन्त्रीले प्रभावकारी कार्य नगरेको र उल्टै सरकारको बद्नाम गरेको भन्दै ओलीमाथि त्यस्ता मन्त्रीहरू हटाउन दबाबसमेत पर्दै आएको छ ।
प्रधानमन्त्री ओली कार्यसम्पादन सम्झौताअनुसार काम गर्न नसक्ने मन्त्रीहरूलाई बिदा दिनुपर्ने अन्तिम निर्णयमा पुगिसकेको बालुटार स्रोतको दाबी छ ।

त्यस्तै, कार्यसम्पादन सम्झौताअनुसार काम नगर्ने मन्त्रालयका सचिवलाई समेत जिम्मेवारी हेरफेर गरिने तयारी गरिएको छ । प्रधानमन्त्री ओलीले यसअघि बोलाएको समीक्षा बैठकमा कार्यसम्पादन सम्झौताअनुसार काम नगर्ने मन्त्री र सचिवलाई समेत कारबाही गरिने चेतावनी दिएका थिए ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले कार्यसम्पादनमा असफल देखिएका मन्त्रीको सूचीसमेत बनाइसकेका छन् । उच्च स्रोतले दिएको जानकारीअनुसार हटाउने सूचीमा आठ मन्त्रीको नाम छ । राजधानी दैनिकबाट