बाजुरामा अत्यधिक रक्तश्रावले सुत्केरीको मृत्यु

 

 

                               
बाजुरामा उच्च रक्तश्रावका कारण उपचारका क्रममा बुधबार बेलुकी एक सुत्केरी महिलाको मृत्यु भएको छ। बाजुरा जिल्ला अस्पतालमा उच्च रक्तश्रावका कारण उपचारका क्रममा बुधबार बेलुकी एक सुत्केरी महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका–१० पाण्डुसेनकी ३५ वर्षीया निर्मला बोहोरा रहेको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले जानकारी दिए ।

मृत्यु भएकी बोहराले दुई वर्ष पहिले जिल्ला अस्पताल बाजुरामै अप्रेसन गरेर बच्चा जन्माएकी थिईन्। यो पटक दुई दिन पहिले नै उनलाई व्यथा लागेको डाक्टर विश्वकर्माले बताए।सुत्केरी महिलाको उपचारमा संलग्न डाक्टर दुर्गा महर्जनका अनुसार बोहराको शरीरबाट अत्याधिक रक्तश्राव भएका कारणले मृत्यु भएको हो।बोहोरालाई भ्याकुम मार्फत बच्चालाई जन्माउँदासम्म अवस्था सामान्य रहेको र बच्चा जन्माई सकेपछि एक्कासी उच्च रक्तश्राव भएको डाक्टर महर्जनको भानाइ छ ।
एकाएक सुत्केरी बोहरालाई अत्याधिक रक्तश्राव भएपछि उपचार गर्दागर्दै मृत्यु भएको उपचारमा संलग्न रहेका डाक्टर महर्जन बताए।भ्याकुममार्फत सुत्केरी गराएपछि शिशुको मुटुले काम गर्न छोडेकाले शिशुलाई समेत बचाउन नसकेको उपचारमा संलग्न अर्का डाक्टर टिकाराम राईले बताए ।