जयशंकर काठमाडौं आउँदै

काठमाडौँ /भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकर बुधबार काठमाडौं आउने भएका छन् । नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको पाँचौं बैठकका लागि उनी आउने भएका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतका तर्फबाट सुब्रमण्यमले बैठकको नेतृत्व गर्नेछन् ।
संयुक्त बैठकमा दुई देशबीचका समग्र सम्बन्ध, साझेदारीका क्षेत्र र व्यापार तथा पारवहन लगायतका विषयमा छलफल हुनेछ । सन् १९८७ मा स्थापना भएको संयुक्त आयोगको चौथो बैठक तीन वर्षअघि नयाँदिल्लीमा भएको थियो । दुवै देशमा पालैपालो हुने आयोगको बैठकले आपसी हितका सम्बन्धमा जोडिएका विषयहरूलाई आगामी दिनमा कसरी अघि बढाउने भन्ने नीति तय गर्ने गर्छ । यो दुई देशबीचको उच्चस्तरीय संयुक्त संयन्त्र हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश मामिलामा ज्यादा विश्वास गरेका जयशंकरको भ्रमणलाई नेपालमा चासोका साथ हेरिएको छ । एक दिनको छोटो बसाइँमा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् । कान्तिपुरबाट