नेकपामा विवाद गहिरिँदै : माधव नेपाल असन्तुष्ट

काठमाडौं/नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको १५ महिनापछि नेता माधवकुमार नेपालको वरीयता खोसिएको छ। यससँगै नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्र आन्तरिक विवाद चुलिन पुगेको छ। आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रस्ताव स्वीकार गर्दै अध्यक्षद्वयपछिको वरियताक्रममा उनलाई ल्याइएको छ।

खनाल पार्टी एकीकरणपछि नेता नेपालभन्दा पछाडिको रोलक्रममा थिए। बैठकले नेता नेपालले अघि सारेको एक व्यक्ति एक पदका साथै स्थायी कमिटीका तीन नेतालाई सचिवालयमा ल्याउन गरेको प्रस्ताव पनि अस्वीकार गरेको छ। पछिल्लो पटक सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको संयुक्त गठबन्धनले नेपाललाई एक्ल्याएको छ।

सचिवालय बैठकले नेता माधव नेपालको रोलक्रम खोस्नुका साथै उनको प्रस्ताव पनि अस्वीकृत गरिदिएको छ।
खनालले आफ्नो वरीयता मिचिएको भन्दै त्यसलाई सच्याउन र गौतमलाई उपाध्यक्ष बनाउन प्रस्ताव गरेपछि वरिष्ठ नेता नेपालले तत्कालीन एमालेको नवौं महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष त्रयलाई अन्याय भएको तर्क गर्दै सचिवालयमा ल्याउन प्रस्ताव गरेका थिए। एउटै महाधिवेशनबाट निर्वाचित कोहीलाई पदैपद, कोहीलाई सचिवालयमा समेत ल्याउन आनाकानी गरेको भन्दै नेता नेपालले नेतात्रय अष्टलक्ष्मी शाक्य, भीम रावल र युवराज ज्ञवालीलाई सचिवालयमा ल्याउन प्रस्ताव गरेका थिए। ‘नेता नेपालले शुक्रबारकै बैठकमा यो प्रस्ताव गर्नुभएको हो। यसबारे आइतबारको बैठकमा पनि छलफल भयो’, सचिवालयका एक सदस्यले भने। तर उनको सो प्रस्तावलाई अस्वीकार गरिएको पनि ती सदस्यले बताए। नागरिकबाट