शनिबार चितवनमा बिहानैबाट दोहोरो प्रदर्शन : झडपको खतरा बढदै

चितवन, ३२ साउन। पत्रकार शालिकराम पुडासैनी आत्महत्याकाण्ड पछी चितवनमा दैनिक रुपमा एकपछी अर्को प्रर्दशन भईरहेको छ । पुडासैनीको सुसाईड भिडियो प्रकरण बाहिरीए लगत्तै रबि लामिछानेसहितका आरोपितहरुलाई प्रहरीले पक्राउ गरेसँगै चितवनको माहोल एक्कासी तातेको हो। रबि लामिछानेलाई पक्राउ गरेपछी उनका सर्मथकहरुको भिडले रबि निर्दोश रहेकोले छाड्नुपर्छ भन्दै हिजो शुक्रबार दिनभर नाराजुलुस गरे ।

सर्मथकको जुलुसले साँझ प्रहरी कार्यालयमा तोडफोड गर्ने प्रयास गर्दा ६ जना प्रहरीहरु घाईते हुन पुगे । यता आज शनिबार बिहानैबाट रबिका सर्मथक सँगै सालिग्राम पुडासैनीलाई न्यायको लागि भन्दै भरतपुरमा अर्को प्रदर्शन पनि शुरु भएको छ । आरोप लागेका जो कोहीमाथि अदालतले छानबिन गर्न पाउने अधिकारलाई नै प्रभावित पार्ने गरी समर्थन र विरोध गर्न नमिल्ने उनीहरूको भनाइ छ। प्रर्दशनका क्रममा उनीहरूले निष्पक्ष छानविन गर्न दिन आग्रह गरेका छन्। स्वतन्त्र युवा समूहको नामबाट गरिएको प्रर्दशनमा दोषी ठहरिए कानुनी कारबाही हुने भन्दै पत्रकार रवि लामिछानेको पक्ष र विपक्षमा नउभिन अपिल गरिएको भएपनि रबिका सर्मथकहरुले त्यो स्वतन्त्र समूहलाई आफ्नो बिरोधी समूह मानेको बुझिएको छ ।

रबि सर्मथकले चितवन बन्द राखेपनि जिल्लामा त्यस्को कुनै प्रभाव परेको देखिदैन । दुबैतर्फ प्रर्दशन जारी रहदा एकआपसमा दोहोरो भिडन्त हुन सक्ने खतरालाई नजरअन्दाज गर्न नहुने देखिन्छ । पुडासैनीले आत्महत्या गर्नुअघि छाडेको भिडियो रेकर्डमा आफूलाई मर्न बाध्य बनाउने व्यक्ति भनेर रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको नाम सार्वजनिक गरेपछि उनीहरू तीनैजनालाई प्रहरीले बिहिबारै पक्राउ गरेर चितवन ल्याइएको हो। चितवन जिल्ला अदालतले तीनै जनामाथि पाँच दिनको म्याद थप गरेर अनुसन्धान प्रकृया अगाडि बढाउन प्रहरीलाई अनुमति दिएको छ।

जिल्लामा ब्यापक मात्रमा प्रहरी परिचालन गरिएको छ । यधपी भिडको कुनै बिचार र सिद्धान्त नहुने भएकोले सर्मथक र बिरोधी दुबैतर्फका भिडका बिच दोहोरो भिडन्तको अवस्था आउन नदिन प्रहरी प्रशासन र सम्बद्ध सबैपक्ष सचेत हुनुपर्ने देखिन्छ ।