देशभरका एनसेल टावर माथि आगजनी र विस्फोट

काठमाडौं /बिप्लव नेतृत्वको नेकपाद्वारा बुधबार राती देशका विभिन्न जिल्लाहरुमा एकैसाथ एनसेलमाथि हमला भएको भएको छ । मेची–कोशीका ३ जिल्लामा एनसेलका ३ वटा टावर ध्वस्त भएका छन् । पाँचथर जिल्लास्थित थर्पुको एक टावर, मोरङ्ग जिल्लाको पथरी नगरपालिका वार्ड नम्बर १० स्थित एक टावर र झापा जिल्लाको बुद्धशान्ति नगरपालिकास्थित कालिस्थान भन्ने स्थानमा एक टावर गरेर ३ वटा टावर ध्वस्त भएका छन् ।
त्यसैगरी ललितपुर जिल्लाको कोनजोसोम गाउँपालिका संखुमा एनसेल टावरमाथि गएराती ११ बजे आगजनी भएको छ । त्यस्तै, सल्यानमा पनि एनसेल टावरमा आगजनी भएको छ । पुर्वि नवलपरासीको कावासोती १० मगरकोटमा रहेको एनसेलको टावर पनि अज्ञात समुहले आगजनी गरेका छन् । आगजनीबाट टावरमा राखिएको जेनेरेटर जलेर पुर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । टावरमा लागेको स्थानिय र प्रहरीको पहलमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगजनी गर्नेको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
यसैगरी कैलाली जिल्लामा पनि एनसेलको टावरमा आगजनी भएको छ। धनगढी उप–महानगरपालिका १, टिकापुर नगरपालिकामा १, लम्की नगरपालिकामा १, र जानकीमा २ एनसेलका टावर ध्वस्त भएको छ । डडेल्धुराको महाभात हगुल्टेलेकको काफली टावर र गोगनपानी सुदुरपश्चिमको मुल टावरलाई समेत ध्वस्त भएको छ । डोेटीको शैली शिखरको कफलेखि टावर, अछाममा बिनायक तुर्माखाँदमा गरि दुईवटा टावर ध्वस्त भएका छन् । बाजुराको बुढीगंगाको बार्जुकोटमा रहेको टावर, बझाङमा थलारा, मस्टा र चिरबिथ्थड गरी तीनवटा टावर ध्वस्त भएका छन् । त्यस्तै बैतडीको दोगाडाको सित्तड र पुर्चौडिको कुडिमा गरी दुईवटा टावर त्यस्तै कञ्चनपुर र दार्चुलामा पनि एनसेल टावर ध्वस्त भएको छ ।

राज्यलाई अरबौं कर नतिरेरै आफ्नो ब्यवसाय संचालन गरिरहेको एनसेलमाथि अज्ञात समुहले कार्बाही गरेको छ । बिगतदेखि नै नेपाल कम्युनिस्ट पार्टी बिप्लव समूहले एनसेलले कर तिर्नु पर्ने माग राख्दै एनसेललाई चेतावनी स्वरुप कारबाही गर्दै आइरहेको छ । नागरिक अगुवाहरुले पनि एनसेलले कर तिर्नु पर्ने दबाब दिइराखेका छन् । त्यस्तै युवा अभियान्ताहरु र बिद्यार्थीहरुले नो ट्याक्स नो एनसेल अभियान पनि संचालन गरिरहेका छन् । सरकारले एनसेलसँग कर लिन सक्ने आफ्नो क्षमता नदेखाइरहँदा दबाब स्वरुप पुनः नेकपाले कार्बाही गरेको हुन सक्ने अनुमान गरिएको छ ।