तरकारी नमुना परीक्षणमै १ लाख ५० हजार लिन्छन

असार २३, काठमाडौं । नेपाल आउने भारतीय उत्पादनको नमुना परीक्षण गर्न पैसै लाग्दैन। सामान्य बाटा खर्चले पुग्छ। त्यही काम गराउन नेपाली व्यवसायीले भने एउटा नमुनाको १ लाख ५० हजार रुपैयाँ तिर्दै आएका छन्।
‘आफै गएर नमुना परीक्षण गरेर ल्याउन भेउ पाइँदैन। भारतीय भन्सार एजेन्टलाई पठाउनुपर्ने बाध्यता छ’, अलैँची व्यवसायी महासंघका सचिव मातृृका घिमिरेले भने, ‘उनीहरुले नमुना लिएर गएदेखि आएसम्मको खर्च १ लाख ५० हजार माग्छन्।’

पहिले व्यापारी यसका लागि आफैं कोलकाता जान्थे। झन्झटिलो भएपछि एजेन्ट प्रयोग गर्न थालेका हुन्। एकपटक परीक्षण गरेको रिपोर्टले ३ महिनासम्म काम गर्छ। वर्षको ४ पटकसम्म एउटै उत्पादनको नमुना परीक्षण गर्नुपर्छ। ‘वर्षको ७ लाखभन्दा माथि त नुमना परीक्षणमै सकिन्छ’, उनले भने। कोलकातामा धेरै नमुना पुग्ने गरेको भन्दै कम्तिमा १० दिनमा मात्रै एजेन्टले रिपोर्ट दिने गरेको नेपाली व्यापारीको भनाइ छ।

निर्यात भन्दा आयात बढी

नेपालबाट सबैभन्दा बढी कृषिजन्य वस्तु काँकडभिट्टा नाकाबाट निर्यात हुने भन्सार प्रमुख टेकबहादुर अर्यालले बताए। क्षेत्रीय प्लान्ट क्वारेण्टाइन कार्यालयका अनुसार गत आर्थिक वर्षमा पुर्वी नाकाबाट सबैभन्दा बढी मुसुरोको दाल निर्यात भयो। कार्यालयका अधिकृत सुरेशकुमार साहका अनुसार त्यसपछि बन्दाकोपी, अदुवा, अम्लिसो, तोरीपिना, राईसब्रान छन्। पछिल्लो ४ महिनामा काँकडभिट्टाबाट ८४ करोड मुल्य बराबरको कृषिजन्य वस्तु निर्यात भयो।

त्यही अवधिमा त्यहाँबाट १ अर्ब १५ करोड ५१ लाख ४५ हजार रुपैयाँ बराबरका कृषिजन्य वस्तुहरु आयात भएको कार्यालयले जनाएको छ। अधिकृत साहका अनुसार चीन, भारत, अष्ट्रेलिया, क्यानाडा लगायतका देशबाट कृषिजन्य वस्तुहरुको आयात हुने गरेका छन्। काँकरभिट्टा नाका भएर सबैभन्दा बढी दलहन आयात भएको छ।

विराटनगर भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको वैशाखसम्ममा २ अर्ब २ करोड ५६ लाख ८६ हजार बराबरको तरकारीजन्य वस्तु आयात भएको छ। सबैभन्दा बढी तरकारीजन्य वस्तुमध्ये आलु र प्याज यहाँबाट ल्याइन्छ। अन्नपूर्णबाट ।